काठमाडौँ । भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना सहित ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।
अहिलेसम्म के कति क्षति भयो भन्ने बारे केही तथ्य बाहिर आएको छैन । त्यस करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन गरी ४०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाको विद्युत् प्रणालीबाट विच्छेद भएको अनुमान गरिएको छ ।
चीन अर्थात् तिब्बतको सीमामा निर्माण भई सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना मात्र ध्वस्त बनाएको छैन । त्यस क्षेत्रका टिमुरे बजार तथा नजिक बस्ती समेत सोहोरेर बगाएको अनुमान गरिएको छ ।सञ्चालनमा रहेका जलविद्युत्गृह तथा विद्युत् सबस्टेसन पूर्णरूपमा ध्वस्त भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बाढीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको र अचानक बाढी आउनुको कारण खुल्न नसकेको बताएका छन् । उनका अनुसार जिल्ला सदरमुकाम वरपर भने वर्षा भएको छैन । टिमुरे बजार पूरै बगाएको बताइएको छ ।
नेपालतर्फ पानी नपरेको तर माथिल्लो क्षेत्रमा हिमताल फुटेको हो वा के भएको हो भन्ने थाहा हुन नसकेको उनको भनाइ छ । बाढीको रूप हेर्दा तल्लो तटीय क्षेत्रमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ ।जमेको नदी अचानक फुटेर बगोजस्तो अनुमान गरिएको छ । बाढी र पहिरोले टिमुरेमा व्यापक क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि, मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन ।
यो बाढी सोही क्षेत्रमा विनाशकारी बाढी आएको ठीक एक वर्षपछि आएको हो । सन् २०८२ असार २४ मा तिब्बतको लेन्दे खोलाबाट सुरु भएको बाढी भोटेकोशीमा मिसिँदा कम्तीमा ९ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए । उक्त बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी सुक्खा बन्दरगाह, जलविद्युत् संरचना र स्याफ्रूबेँसी-रसुवागढी सडकखण्डमा गम्भीर क्षति पुर्याएको थियो ।