काठमाडौँ । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटिपी (स्ट्रेज थ्रु प्रोसेसिङ) अवार्ड २०२५’ प्राप्त गरेको छ । यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो ।
यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँदछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ‘हाम्रा ग्राहकका लागि अन्तर्राष्ट्रिय बैंकिङ सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो । उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।’
यस उपलब्धिले बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ । बैंकले हाल देशभरि १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।