काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवालीले बधाई तथा शुभकामनासहित विभिन्न १३ वटा बुँदामा सुझाव दिएका छन् । ज्ञवालीले आफूमा भएको अथाह प्राविधिक क्षमतासमेतको उपयोग गर्दै प्राधिकरणमा सुशासन कायम गरी अग्रगामी दिशा प्रदान गर्न शाक्यको ध्यान पुग्ने अपेक्षा सहित सुझाव प्रस्तुत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ज्ञवालीले लेखेका छन्, ‘नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य ज्यूलाई निम्न सुझाव सहित हार्दिक वधाई एवं शुभकामना ।’
ज्ञवालीले शाक्यलाई दिएका १३ बुँदे सुझाव यस्तो छ :
१. सर्वप्रथम तपाईंको क्षमता योग्यता निःस्वार्थ संस्थाका लागि लगाउनुहोला किनभने तपामा अथाह प्राविधिक क्षमता छ प्रशासनिक क्षमता पनि बढाउनु हुनेछ ।
२. प्राधिकरणलाई व्यक्तिगत स्वार्थमा नहेरी संस्थागत गर्दै सुशासनयुक्त सेवा सञ्चालन गर्नु हुनेछ ।
३. प्राधिकरणभित्र हाकिमको हैकम नभई सबै कर्मचारीहरूसँग सामन्वय गर्दै साथीको व्यवहारमा प्रस्तुत हुनु हुनेछ ।
४. प्राधिकरणभित्र वर्षौंसम्म विवादित विद्युत् महसुल बक्यौता असुली गर्नु हुनेछ साथै डेडिकेटेड र ट्रंक लाइनको विवादमा यथार्थ निर्णयमा पुग्नुहुनेछ । प्रयोग गरेको विद्युत्काे महसुल प्रमाणको आधारमा असुली गर्नै पर्छ सो कार्यमा आफ्नो प्राविधिक दक्षता प्रदर्शन गर्नु हुनेछ ।
५. उज्यालो नेपाल बनाउन सामुदायिक विद्युतीकरण कार्यक्रम र सामुदायिक संस्थाले खेलेको भूमिकालाई अवमूल्यन नगरी संस्थागत विकासमा नीतिगत व्यवस्था गर्नुहुनेछ ।
६. सामुदायिक संस्थाहरूले विद्युतीकरणमा लगानी गरेको २ अर्ब रुपैयाँलाई संस्थाको लगानीको रूपमा स्वीकार गरी उपयुक्त व्यवस्थापन गर्नु हुनेछ ।
७. प्राधिकरणमा सबै तहका कर्मचारीहरूलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिँदै संस्थाप्रति बफादार बन्न प्रोत्साहित गर्दै कामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नु हुनेछ ।
८. नेपालमा जलाशययुक्त आयोजनाको विकास गरी दिगो भरपर्दो र गुणस्तरीय विद्युत् सेवा आम उपभोक्ताहररूमा प्रवाह गर्नु हुनेछ ।
९. नेपालको विद्युत् निर्यात गरेर वा वेचेर धनी बन्ने सपनालाई कम प्राथमिकतामा राखी नेपालमै औद्योगिकीकरण, औद्योगिकीकरणबाट रोजगारी सिरजना गरी नेपालको विद्युत्को प्रयोगबाट नेपालीको आय–आर्जन बढाउने बाटो तय गर्नु हुनेछ ।
१०. विद्युत् महसुल पुनरावलोकन गरी सर्वसुलभ र वैज्ञानिक विद्युत् महसुल निर्णयमा सघाउ पुर्याउनु हुनेछ ।
११. विद्युत् चुहावट नियन्त्रण, सडक बत्तीमा व्यवस्थापन, स्थानीय सरकार र प्रदेश सरकारसँगै संघीय सरकारसँग समन्वय गर्नु हुनेछ ।
१२. नेपाल विद्युत् प्राधिकरणभित्र रहेका सबै ट्रेड युनियनसँग सहकार्य गरी प्राधिकरणको हितमा अधिक ध्यान पुर्याउनु हुनेछ ।
१३. सामाजिक सञ्जालमा आएका भ्रमहरूलाई चिर्न पत्रकार सम्मेलन गरी यथार्थ सबैलाई जानकारी गराउनु हुनेछ ।