काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै यसको प्रयोग र आयात बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १४ हजार ७९५ विद्युतीय गाडी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म साना–ठूला उक्त संख्याका तीन पाङ्ग्रे र चार पाङग्रे सवारी आयात भएका हुन् । सरकारले पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन आयातमा छुट दिन थालेपछि यसको आयात वार्षिक रूपमा बढ्दै गएको देखिन्छ ।
उक्त विद्युतीय सवारी आयात गर्दा १४ अर्ब २३ करोड ५४ लाख ५३ हजार रूपैयाँ बाहिरीएको छ भने यसबापत सरकारले ८ अर्ब ४७ करोड ९ लाख ७१ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ ।
विभागको तथ्याङ्क अनुसार यसमा एसेम्बल नगरिएका तीन पाङ्ग्रे विद्युतीय सवारी साधन भारतबाट १८६ थान र चीनबाट ३ हजार २ सय ९४ थानसमेत भित्रिएका छन् । त्यस्तै तयारी अवस्थाका तीन पाङ्ग्रे मध्ये भारतबाट ८ सय १० र चीनबाट ५ हजार २५ वटा सवारी भित्रिएको छ । तयारी र एसेम्बल नगरिएका गरी भारत र चीनबाट यो ६ महिनामा तीन पाङ्ग्रे सवारी साधनमात्रै कुल ९ हजार ३ सय १५ थान भित्रिएका छन् ।
यसैगरी ५ हजार ४ सय ८० चार पाङ्ग्रे कार जीप, भ्यान जस्ता विद्युतीय सवारी आयात भएको तथ्याङ्कमा छ । चार पाङ्ग्रे सवारीमध्ये ५० किलोवाटसम्मको १ हजार ७ सय २५ वटा आयात भएको छ । ५१ किलोवाटदेखि १ सय किलोवाटसम्म ३ हजार १ सय ९१ वटा सवारी आयात भएको छ ।
१०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ५३ र २०० किलोवाट ३०० किलोवाटसम्मको ९ वटा विद्युतीय कार, जीप भ्यान आयात भएको छ । नेपालले चार पाङ्ग्रे गाडी सबैभन्दा बढी चीनबाट आयात गर्ने गरेको विभागको तथ्याङ्कमा देखिन्छ ।