काठमाडाैँ । पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ३७ हजार १५ मेगावाट आवर ऊर्जा (विद्युत्) उत्पादन गरेको छ । मंगलबार काठमाडौँमा आयोजित आठौँ वार्षिक साधारणसभाम प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीले यस्तो जानकारी गराएको हो ।
गोल्यान ग्रुप अन्तर्गतको पियोर इनर्जी नेपालमा हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । कम्पनीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । ब्लक–१ बाट १८ हजार ७६९ मेगावाट आवर र ब्लक २ बाट १८ हजार २ सय ४६ मेगावाट आवर ऊर्जा उत्पादन गरिएको कम्पनीको प्रगति प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ब्लक १ बाट १० हजार ७ सय १९ र ब्लक २ बाट १७ हजार ९०० गरी कूल २८ हजार ६ सय मेगावाट आवर ऊर्जा उत्पादन गरेको थियो ।
गोल्यान ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका पियोर इनर्जीका सञ्चालक समिति अध्यक्ष अक्षय गोल्यानले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा विद्युत् बिक्रीबाट २५ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको बताए, जुन आर्थिक वर्ष २०८०/८१ को भन्दा १९.२३ प्रतिशतले बढी हो ।
प्रतिवेदन अनुसार कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा ३ करोड १९ लाख ७९ हजार रुपैयाँ रहेको छ । सौर्य उर्जाको व्यापारिक उत्पादन सुरु गरेको दोस्रो वर्षमै पियोर इनर्जी लिमिटेडले नाफा कमाउन सफल भएको हो । आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनी १ करोड ७५ लाख ८० हजार रुपैयाँ खुद घाटामा थियो ।
नेपाल विद्युत् प्राधिकरण र पियोर इनर्जीबीच २०७८ मंसिरमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको थियो । पियोरले २०८० पुसमा सौर्य उर्जाको व्यापारिक उत्पादन सुरु गरेको प्राधिकरणको वार्षिक प्रतिवेदन सन् २०२३/२४ मा उल्लेख छ ।
यसैबीच, साधारणसभाले कम्पनीमा तीनजना नयाँ सञ्चालक नियुक्त गरेको छ । संस्थापक समूहबाट सञ्जयकुमार साह, सर्वसाधारण समूहबाट प्रवेशकुमार आचार्य र स्वतन्त्र सञ्चालकबाट विशाखा लक्ष्मी खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।