विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार १५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पछिल्लो समय विद्युत् क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले करिब करिब ८०० मेगावाटका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । कृषि, निर्माण, वित्तीय सेवा लगायत विभिन्न क्षेत्रमा आवद्ध रहेको समूहले ऊर्जा विकासमा पनि व्यापक रूपमा अघि बढेको हाे ।

समूहले सरकारसँग अनुमतिपत्र लिई ८ आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । हालसम्म ७८१ मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा रहेको गोल्यान समूह ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रविण अर्यालले बताए ।

समूहले ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली, १३५ मेगावाटको नामलाङ, ९७ मेगावाटको इसुवा खोला, ४६ मेगावाटको माथिल्लो बलेफी, ३६ मेगावाटको बलेफी, ५० मेगावाटको ताराव खोला, ५४ मेगावाटको तल्लो अप्सुवा मिजु, ५७ मेगावाटको मुगु खोला अघि बढाइरहेको छ ।

गोल्यान समूहको संलग्नता रहेकामध्ये ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ । सिन्धुपाल्चोकमा बलेफी हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाले २०७९ कात्तिकदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

बाँकी ७ आयोजना निर्माणका विभिन्न चरणमा छन् । माथिल्लो बलेफी ‘ए’ सँगै यही जिल्लामा ४६ मेगावाटको माथिल्लो बलेफीको निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०८० मंसिरमा विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरी निर्माण अघि बढीसकेको अर्यालले जानकारी दिए । यसमा गोल्यान समूहको ८२ प्रतिशत लगानी छ ।

यसैगरी, केएनबिआर इसुवा हाइड्रो पावर कम्पनीमार्फत ९७.२ मेगावाटको इसुवाखोला आंशिक जलाशय आयोजना निर्माण भइरहेको छ । यो आयोजना २०८०  चैतभित्र निर्माण सम्पन्न गर्ने तालिका भएपनि कोभिड–१९ महामारीले आयोजनाको काम प्रभावित भएको हुँदा निर्धारित तालिकाभन्दा १ वर्ष निर्माण धकेलिने देखिएको छ ।

यो आयोजना निजी क्षेत्रले स्वदेशी पुँजीबाट निर्माण गरिरहेको अहिलेसम्मको ठूलो हो । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । यसबाट वार्षिक ६४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसमा सानिमा बैंकको अगुवाईमा ६ बैंकले ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् भने बाँकी २ अर्ब स्वपुँजी लगानी छ ।

यस्तै, ५४ मेगावाटको तल्लो अप्सुवा मिजु इनर्जी लिमिटेडमार्फत निर्माण भइरहेको छ । सरकारी बास्केटबाट ल्याइएको आयोजनामा सयुक्त राज्य अमेरिकाको फेडेरल बैंक डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी)ले ८० प्रतिशतसम्म ऋण लगानी गर्ने प्रतिबद्धता जनाएकाे छ ।

१३५ मेगावाटको नामलाङ खोलाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको अर्यालले बताए । साथै, पिपिएका लागि पनि काम भइरहेको जनाइएको छ ।

बाँकी ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली, ५७ मेगावाटको मुगु कर्णाली र ५० मेगावाटको ताराप खोला अध्ययनको चरणमा छन् । माथिल्लो मुगु कर्णालीको वातावरणीय मुल्यांकन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । मुगु जिल्लामा अघि बढेको नामलाङ र माथिल्लो मुगु कर्णाली आंशिक जलाशय आयोजना हुन् । यी आयोजना पूरा भएपछि दैनिक ६/६ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

मुगु कर्णाली र ताराप खोला नदी प्रवाही आयोजना हुन् । ताराप खोला प्रारम्भिक चरणको अध्ययन भइरहेको छ भने मुगु कर्णाली पनि अध्ययनको चरणमा छ ।

समूहले जलविद्युत् बाहेक ६० मेगावाटका सौर्य आयोजना पनि अघि बढाएको छ । जसमध्ये २० मेगावाटका दुई आयोजनाको निर्माण पूरा गरी सञ्चालन भइरहेकाे छ । बाँकी ४० मेगावाटका ४ आयोजना निर्माणका विभिन्न चरणमा छन् । गोल्यान समूहले सन् २०३० सम्म ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३