काठमाडौँ । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकार (गृह मन्त्रालय) लाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण सहयोग गरेको छ । कम्पनीले बाढीबाट जनजीवन, घर, सडक तथा महत्त्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै आवश्यक उपकरण सहयोग गरेको जनाएको छ ।
सहयोगअन्तर्गत बोबक्याटका ४ थान मिनी एक्स्काभेटर, २ थान ब्याकहो लोडर, ३ थान स्किड स्टियर लोडर र ६ थान टावर लाइट नेपाल सरकारलाई उपलब्ध गराइएको छ । यी उपकरण बाढीबाट प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध क्षेत्रमा पहुँच पुर्याउने, सडक पुनःस्थापना तथा अन्य आपत्कालीन कार्यमा प्रयोग गरिने जनाइएको छ ।
नेपालका लागि बोबक्याटको अधिकृत डिलर एफजी इन्कर्पोरेटेड प्रालिको सहकार्यमा उपकरणहरूको आवश्यक सर्भिस तथा तयारी गरी सञ्चालनका लागि तयार पारिएको कम्पनीले जनाएको छ । उपकरणहरू एफजी इन्कर्पोरेटेड प्रालिका अध्यक्ष पवनकुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने, निर्देशक पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा एक समारोहबीच नेपाल सरकारका गृहमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
उपकरण हस्तान्तरणमार्फत डुसान बोबक्याटले नेपाल सरकारसँगको सहकार्यमा विपद् उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले बाढीबाट प्रभावित समुदाय तथा नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउँदै नेपालको उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका प्रयासमा आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने जनाएको छ ।
दक्षिण काेरियाली डुसान ग्रुपको सहायक कम्पनीका रूपमा भारतकाे बाेबक्यट इन्डिया प्रालिले पूर्वाधार निर्माण क्षेत्रका लागि आवश्यक ठूला उपकरणहरूको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।