काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले नवीकरणीय ऊर्जा र जलवायु वित्त (क्लाइमेट फाइनान्स) को क्षेत्रमा काम गर्न उच्च तहका विज्ञ परामर्शदाताहरूको माग गरेको छ । केन्द्रले नवीकरणीय ऊर्जालाई मूलधारको ऊर्जा स्रोतका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य अनुरूप संस्थागत क्षमता, सुशासन संयन्त्र र योजनागत ढाँचालाई सुदृढ बनाउने गरी कार्य अघि बढाउन प्रतिस्पर्धामार्फत नयाँ दुई पदका लागि दुई विज्ञ परामर्शदाता नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
विशेषगरी हरित जलवायु कोष (जिसिएफ) रेडिनेस तथा पूर्वतयारी सहायता कार्यक्रम (आरपिएसपी) प्रभावकारी रुपमा अघि बढाउन लागेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पेरिस सम्झौता अन्तर्गत नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धताहरू पूरा गर्ने क्रममा कार्बन व्यापार नियमावली, २०८२ र हालै कार्यान्वयनमा ल्याइएको राष्ट्रिय कार्बन रजिस्ट्री (नेशनल कार्बन रजिस्ट्री) मार्फत पेरिस सम्झौताको ‘आर्टिकल ६’लाई संस्थागत रूपमा अगाडि बढाएको छ । साथै, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी आयोजनाहरूका लागि बहुपक्षीय वैदेशिक आर्थिक स्रोत जुटाउने उद्देश्यका साथ केन्द्रले ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटी (जिइएफ) सँगको सहकार्यलाई तीव्रता दिने रणनीति लिइएको छ । उक्त कार्यहरू प्राविधिक रूपमा अघि बढाउन केन्द्रले काठमाडौँका लागि २ विधामा २ जना विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको हो ।
केन्द्रले जारी गरेको सूचना अनुसार ‘हरित जलवायु कोष (जिसिएफ) रेडिनेस सम्बन्धी गतविधि हेर्ने’ गरी एक जना र ‘जिइएफ तथा आर्टिकल ६ सम्बन्धी गतिविधि हेर्ने’ गरी अर्का एक जना विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको हो । यसका लागि केन्द्रले दक्ष तथा क्षमतावान् नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले यस सम्बन्धी विस्तृत कार्यशर्त (टिओआर) केन्द्रको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी अध्ययन गर्न सक्नेछन् । आवेदकहरूको छनोट न्यूनतम शैक्षिक योग्यता, सम्बन्धित कार्यक्षेत्रको अनुभव र कार्यक्षमताका आधारमा प्रारम्भिक छनोट (सर्ट–लिस्टिङ) र अन्तर्वार्तामार्फत गरिने केन्द्रले जनाएको छ ।
उक्त दुई पदका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (सिभी), नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरू संलग्न गरी आवेदन पेश गर्नुपर्ने छ । असार १६ गते साँझ ५ बजेभित्र केन्द्रको ताहाचलस्थित कार्यालयमा भौतिक रूपमा वा केन्द्रको आधिकारिक इमेलमार्फत आवेदन दर्ता गराउन सक्ने जनाइएको छ ।