काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ र डोटी जिल्लाका विभिन्न नदी तथा खोलाहरूबाट हालसम्म कुल १७६.९२ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जोडिएको छ । ऊर्जा उत्पादनको यो तथ्याङ्कमा सरकारी निकाय (नेपाल विद्युत् प्राधिकरण) को तुलनामा निजी प्रवर्द्धककै हिस्सा बढी छ ।
प्राधिकरणका अनुसार दार्चुला जलविद्युत् उत्पादनमा सबैभन्दा अगाडि देखिएको छ । दार्चुलामा मात्रै ५ जलविद्युत् आयोजनाबाट ९६.५ मेगावाट विद्युत् उत्पादन भएको छ । जसमा चमेलिया खोला (३० मेगावाट), नौगडगाड खोला (८.५ मेगावाट), माथिल्लो नौगडगाड (८ मेगावाट), माकरी गाड (१० मेगावाट) र माथिल्लो चमेलिया (४० मेगावाट) छन् । यीमध्ये चमेलिया प्राधिकरणले निर्माण गरेको हो भने अन्य आयोजना अपि पावर लगायत निजी कम्पनीले निर्माण गरेका हुन् ।
दार्चुलामा अपि पावरले मात्रै ५६.५ मेगावाटका तीन आयोजना सञ्चालन गरिरहेको देखिन्छ । यस कम्पनी अर्को २८ मेगावाटको मध्यचमेलिया पनि निर्माण गरिरहेको छ ।
यसैगरी, बझाङमा पनि ४ आयोजना सम्पन्न भएका छन्, जसको कुल क्षमता ७५.५४ मेगावाट रहेको छ । कालंगागाड (१५.३३ मेगावाट), माथिल्लो कालंगागाड (३८.४६ मेगावाट), सानीगाड (१०.७ मेगावाट) र सुनिगाड (११.०५ मेगावाट) छन् । यी आयोजनाले बझाङलाई ऊर्जाको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याएको देखिन्छ । डोटी जिल्लामा भने २ साना आयोजना सञ्चालनमा छन्, जसमा माथिल्लो गड्डीगाड (१.५५ मेगावाट) र कपाडीगाड (३.३३ मेगावाट) गरी ४.८८ मेगावाट विद्युत् उत्पादन भएको छ ।
लगानीको प्रकृतिलाई हेर्दा कुल १७६.९२ मेगावाटमध्ये निजी क्षेत्रका १० आयोजनाबाट १४६.९२ मेगावाट (करिब ८३ प्रतिशत) विद्युत् उत्पादन भएको छ । सरकारी स्तरबाट भने चमेलियाको ३० मेगावाटमात्र योगदान छ । यी आयोजनाले २०७२ सालदेखि २०८२ सम्म को व्यावसायिक उत्पादन गरेका हुन् ।
सङ्ख्यात्मक हिसाबले थोरै नै भए पनि सुदूरपश्चिमका जिल्लामा भएको जलविद्युत् विकासले स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै देशको समग्र ऊर्जा सुरक्षामा महत्त्वपूर्ण टेवा पुर्याइरहेको देखिन्छ । जिल्लागत हिसाबले हेर्दा दार्चुला (५ आयोजना) मा ९६.५ मेगावाट, बझाङ (४ आयोजना) मा ७५.५४ मेगावाट र डोटी (२ आयोजना) ४.८८ मेगावाट उत्पादन भएको देखिन्छ ।