विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा झन्डै ३ दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवारत ३ उपकार्यकारी निर्देशक शुक्रबार (एकै दिन) अवकाश भएका छन् । अवकाश हुनेमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारी र अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लोकहरि लुइँटेल छन् ।

प्राधिकरणमा सेवाका लागि ५८ वर्षे उमेरहदकाे व्यवस्था रहे पनि उपकार्यकारी निर्देशककाे ५ वर्षे सेवा अवधि पूरा गरेर सिलवाल ५४ वर्ष, भण्डारी ५२ वर्ष १० महिना र लुइँटेलले ४९ वर्षकाे उमेरमै अवकाश पाएका हुन् । मुख्य–मुख्य ३ निर्देशनालयका प्रमुखहरू एकै पटक अवकाश हुँदा प्राधिकरणमा एक्कासी नेतृत्व संकट देखिने भएको छ । यसबारे प्राधिकरणले कुनै तयारी समेत गरेको छैन ।

नेतृत्व हस्तान्तरणको थिति बसाल्ने उद्देश्यअनुसार सिलवाल करिब १० दिन अगाडि नै विदामा बसेका थिए । यद्यपि, उनलाई अवकाश नहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग साँठगाँठ गरी विदा बसेको जस्ता सार्वजनिक प्रचार गरिएको थियो । नेतृत्व हस्तान्तरणमा एउटा प्रणाली बसोस् भनेर आफूले त्यसो गरेको पनि उनले ऊर्जा खबरलाई बताएका थिए ।

२०४३ सालमा शान्ति विद्यागृह लैनचौरबाट एसएलसी उत्तीर्ण गरेका सिलवाल २०४६ सालमा ओभरसियरका रूपमा प्राधिकरणको अस्थायी सेवामा प्रवेश गरेका थिए । ओभरसियरमै स्थायी भएपछि उनी २०५७ सालमा मात्र इन्जिनियरमा बढुवा भई २०६२ सालमा अन्तर्राष्ट्रियस्तरको कार्य अनुभव संगाल्न न्यूजील्याण्डमा समेत रहेर काम गरेका थिए । उनले काठमाडौँ विश्वविद्यालय (केयू) बाट स्नातक र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर (एमएससी) सम्मको अध्ययन पूरा गरेका छन् ।

२०६७ सालमा प्रबन्धमा बढुवा भई बुटवल–कोहलपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनको नेतृत्व सम्हालेका थिए । त्यसपछि, सिलवाल २०६९ सालमा अत्तरिया क्षेत्रीय कार्यालयको प्रमुख (२१ महिना), सामुदायिक विद्युतीकरण विभागको प्रमुख हुँदै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको मुख्य जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

त्यसैबीचमा निर्देशकमा बढुवा भएका उनी केही महिना प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयमा रही २०७३ सालदेखि करिब ४ वर्ष आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुख भएका थिए । त्यहाँबाट इन्जिनियरिङ सेवा निर्देशनायमा सरुवा भई करिब ८ महिना जिम्मेवारीमा रहेपछि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयमा सरुवा भएका थिए । यस निर्देशनालयमा उनले करिब साढे ३ वर्ष जिम्मेवारी पूरा गरी सेवा निवृत भएका छन् ।

यसैगरी, अर्का उपकार्यकारी निर्देशक भण्डारी भने सेवाको उमेर हद ५८ वर्ष पुग्न ५ वर्ष २ महिना बाँकी हुँदै उनी अवकाश भएका हुन् । उनले करिब ३ दशक प्राधिकरणका विभिन्न कार्यालय, वितरण केन्द्र, क्षेत्रीय कार्यालय र निर्देशनालयमा रहेर कुशलता पूर्वक जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल सरकार तथा प्राधिकरणको ५८ वर्षे सेवा अवधि नपुग्दै अवकाश हुने संस्थाको इतिहासमा इन्जिनियरिङ निर्देशनालयका सबैभन्दा कान्छा इन्जिनियर भएका छन् । 

नेपाल टेलिकमबाट सरकारी सेवा सुरु गरेका भण्डारीले २०५४ साल कात्तिकमा प्राधिकरणको इन्जिनियर भएर प्रवेश गरेका थिए । प्राधिकरण सेवाको सुरुमा पोखरा क्षेत्रीय कार्यालय अन्तर्गत विभिन्न वितरण केन्द्रमा रहेर जिम्मेवारी सम्हालेका थिए । यस क्षेत्रीय कार्यालयमा २ पटकसम्म प्रमुखको जिम्मेवारी सम्हालेका उनले २०४९ सालमा कोलम्बो प्लानअन्तर्गत भारत सरकारले प्रदान गर्ने छात्रवृतिमा अलिगढ मुस्लिम विश्वविद्यालयबाट चार वर्षे ‘ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ (बिई) अध्ययन गरेका छन् । अध्यय सकेर फर्किनासाथ २०५३ पुसमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेशका लागि लिखित परीक्षा दिएका थिए । सोही वर्षको फागुनमा दूरसञ्चार संस्थानमा पनि सेवा प्रवेशका लागि परीक्षा दिएका थिए । अन्तर्वार्तामा समेत नाम निकाल्न सफल भएपछि उनले टेलिकमको इन्जिनियर पदबाट जागिर सुरु गरे । यसको करिब ६ महिनापछि प्राधिकरणमा पनि उनले नाम निकाले । 

सुरुमा उनको पोष्टिङ प्राकिरणको वितरण निर्देशनालयअन्तर्गत नुवाकोट वितरण केन्द्रमा भयो । केही समय त्यहाँ काम गरेपछि उनको सरुवा पोखरा वितरण केन्द्रमा भएको थियो । करिब साढे ६ वर्ष सातौँ तहमा काम गरेपछि २०६० सालको चैतमा ‘फाइल बढुवा (कार्यसम्पादन मूल्याङ्कन तथा ज्येष्ठताका आधारमा गरिने बढुवा) बाट आठौँ तहमा पदोन्नति भई विद्युतीकरण आयोजना र ग्रीड सञ्चालन विभागमा रहेर काम गरे । 

२०६६ सालमा आन्तरिक प्रतिस्पर्धाबाट नवाैँ तहमा बढुवा भएका भण्डारीले राहुघाट जलविद्युत् आयोजनाको सुरुवाति चरणको काम गरेका थिए । २०६६ सालमा खुला प्रतिस्पर्धाबाटै दशाैँ  तहमा नाम निकाल्न सफल भएपछि उनले सिँगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको प्रमुख भएर जिम्मेवारी निर्वाह गरे । यसबीच उनले प्राधिकरणको पोखरा क्षेत्रीय कार्यालयको प्रमुख (क्षेत्रीय निर्देशक), सामुदायिक विभाग, ऊर्जा दक्षता विभाग र योजना विभागमा रहेरसमेत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरे । उत्पादन विभागबाहेक अन्य सबै विभागमा रहेर काम गर्ने अवसर प्राप्त गरेका भण्डारी नियमित बढुवा पाउँदै दशाैँ तहमा ४ वर्ष, एघाराैँ तहमा ४ वर्ष र बाह्राैँ तहमा ५ वर्ष काम गरी सेवा निवृत्त भएका हुन् ।     

प्राधिकरणमा बाह्राैँ तह अर्थात् उपकार्यकारी निर्देशकमा ५ वर्षे सेवापछि अनिवार्य अवकाश हुने बाध्यात्मक व्यवस्था अनुसार उनी सेवा निवृत भएका छन् । माथिल्लो तहमा पुगेपछि यसरी उमेर नपुग्दै अवकाश हुने व्यवस्था रहेका कारण पछिल्लो समय प्राधिकरणमा केही निर्देशकहरूले उपकार्यकारी निर्देशकमा बढुवा हुनका लागि प्रक्रिया अगाडि बढाउनसमेत इच्छा नदेखाएको अवस्था देखिन्छ ।

भण्डारीले भने माथिल्लो तहमा सीमित अवधि सेवा (५ वर्ष) गरेपछि अवकाश हुने व्यवस्थालाई आत्मसात् गरी नियमित बढुवा तथा सेवा पक्षलाई महत्त्व दिएको देखिन्छ । अवकाशपछि आफू ऊर्जा विकासकै क्षेत्रमा क्रियाशील रहने उनले ऊर्जा खबरलाई बताएका छन् ।

लुइँटेलले भने एकै पटक दशाैँ तहमा तहमा नाम निकालेर प्राधिकरणको सेवामा प्रवेश गरेका थिए । नेपाल टेलिकममा १४ वर्ष काम गरेका लुइँटेल चार्टर्ड एकाउन्टेन्ट (सिए) हुन् । उपकार्यकारी निर्देशकमा रहेर ५ वर्षे सेवा अवधि पूरा गरेका लुइँटेलले १० वर्ष प्राधिकरणमा सेवा पुर्‍याएर अवकाश पाएका हुन् । उनी सेवा अवधि पूरा गरी अवकाश हुने अर्थ/प्रशासन तर्फका सबैभन्दा कान्छा उपकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३