काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आरीघोप्टे तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै असोज ९ देखि ११ गतेसम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिन अनुसार उक्त अवधिमा देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सामुद्रिक क्षेत्रमा विकास भइरहेको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा, बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबान हुनसक्ने भएकाले प्राधिकरणले सम्भावित जोखिमप्रति ध्यानाकर्षण गराएको हो ।
सम्भावित प्रतिकूल मौसमका कारण विद्युतीय संरचनाहरूमा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मत सम्भार गरी सेवा सुचारु गर्नका लागि प्राधिकरण पूर्ण प्रतिबद्ध रहेकोसमेत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसका लागि सम्बन्धित कार्यालयका कर्मचारीहरूलाई उच्च तयारी अवस्था (स्ट्यान्डबाइ) मा राखिएको छ ।
प्राधिकरणले प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै रहन, आकस्मिक अवस्थाबाहेक घरबाहिर ननिस्कन र विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न अनुरोध गरेको छ । साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ । विद्युत सेवा अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगेमा नजिकैको वितरण केन्द्र, हेल्पलाइन नम्बर ११५० वा स्थानीय 'नो-लाइट' नम्बरमा सम्पर्क गरी तुरुन्त जानकारी गराउन उपभोक्ता वर्गलाई अनुरोधसमेत गरिएको छ ।