वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टीतेल गरी उक्त मूल्यको आयात भएको हो ।
गत आवको २ महिनाको तुलनामा चालु आवको साेही अवधिमा उक्त नाका हुँदै १ अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी राजस्वसमेत सङ्कलन भएको छ ।
‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो’, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने । गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको २ महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोडको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।
चालु आवको २ महिनामा ६ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले ४ अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९९ करोड राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै, चालु आवको २ महिनामा ५ अर्ब १२ करोडको ४ करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा ९६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा भने ५ अर्ब ३६ करोडको ४ करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा १ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।