काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युत् तारमा अल्झिएर भएको बोलेरो दुर्घटनामा लापरवाही गर्ने कर्मचारीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त दुर्घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै मन्त्री खड्काले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथै विद्युत् सेवा प्रवाहमा लापरवाही र हेलचेक्रयाइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न समेत उनले मातहतका सबै कर्मचारीलई निर्देशन दिए ।
मन्त्री खड्काले विद्युत्को तारमा अझिँदा गाडीमा करेन्ट लागेर भएको दुर्घटनामा ४ जनाको ज्यान जानु २ जना गम्भीर घाइते हुनु राज्यकै लागि गम्भीर चुनौतीपूर्ण घटना भएको बताए । यस पक्षको सुधार गर्न सम्बद्ध निकायलाई तत्काल सुधारात्मक कदम चाल्नसमेत उनले निर्देशन दिए ।
२०८२ वैशाख ८ गते ताप्लेजुङको पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना.१.ज. ३०११ नम्बरको बोलेरो गाडीलाई सेवारो चोकमा लत्रिएको विद्यत् लाइनको तारले छोएपछि गाडीमा करेन्ट प्रवाह भएर आगो लागेको थियो । घटनामा ४ जनाको मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए ।
घटना भएलगत्तै मन्त्रीस्तरीय निर्णयमार्फत् विद्युत् विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनियर नुतनप्रकाश शर्माको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिले सो दुर्घटनाबारे तयार गरेको विस्तृत प्रतिवेदन शुक्रबार मन्त्रीसमक्ष बुझाएको हो । प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने बताउँदै अब नीति र व्यवहार दुवैमा परिवर्तन अनिवार्य रहेको उल्लेख गरे ।
मन्त्री खड्काले स्पष्ट रूपमा भने, राज्यले विद्युत् पूर्वाधार विकासमा ठूलो लगानी गरिरहेको भए पनि केही कर्मचारीको लापरवाही र जिम्मेवारीहीन व्यवहारका कारण आम नागरिकको ज्यान जोखिममा परेको अवस्था दोहोरिनु अत्यन्त दुःखद् छ। अब यस्ता लापरवाहीहरूप्रति शून्य सहनशीलताको नीति अख्तियार गरिने उनको भनाइ थियो । उनले पीडित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन क्षतिपूर्ति सुनिश्चित गर्न समेत सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको जानकारी गराए ।
समितिको प्रतिवेदनमा दुर्घटनाको मूल कारण पोलको इन्सुलेटर फुस्किनु, कम दृश्यता, सवारीको छानामा राखिएको संरचनाले विद्युत तार छोएको र विद्युत प्रवाह रोक्ने सुरक्षा प्रणालीले काम नगरेको जस्ता गम्भीर प्राविधिक कमजोरीहरू औंल्याइएका छन् ।
मन्त्री खड्काले सरकार अब विद्युत् सुरक्षालाई प्राविधिक विषयमा मात्र नभइ नागरिक सुरक्षा र जनताको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको विषयको रूपमा अघि बढाउने बताए । दुर्घटनामा ज्यान गुमाउने परिवारका साथै घाइतेहरूको स्वास्थ्योपचार र उचित क्षतिपूर्तिका तत्काल व्यवस्था गर्न निर्देशन समेत दिए ।
याे पनि पढ्नुहाेस् : ताप्लेजुङ विद्युतीय दुर्घटना : ऊर्जा मन्त्रीद्वारा ४ सदस्यीय छानबिन समिति गठन