काठमाडौँ । एनएमबि बैंक लिमिटेडले सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको जनाएको छ ।
उक्त योजना अनुसार बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरु गरेको छ, जसमा कोशी, मिथिला (मधेश), बागमती, फेवा (गण्डकी), बुद्ध भूमि (लुम्बिनी), रारा (कर्णाली) र खप्तड (सुदूरपश्चिम) बचत खाता रहेका छन् ।
बैंकका अनुसार डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ताका साथै अन्य सुविधाहरू प्राप्त गर्नेछन् ।
यस बचत खातामार्फत बैंकले देशका सबै भागमा सजिलो, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने लक्ष्य राखेको छ । बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैँ आइरहेको जनाएको छ ।