काठमाडौं । लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी-फिदी जलविद्युत् आयोजनाको इलेक्ट्रो-मेकानिकल कार्यका लागि प्रवर्द्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेड र भारतको फ्लोभेल इनर्जी प्रालिबीच औपचारिक सम्झौता भएको छ । आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने लक्ष्यका साथ दुई कम्पनीबीच उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि समझदारी भएको हो ।
सम्झौतापत्रमा नर्थ समिटका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्री र फ्लोभेल इनर्जीका प्रबन्ध निर्देशक गौतम कारले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक क्षेत्रीले आयोजनाको सिभिल संरचनाको काम सन्तोषजनकरूपमा अघि बढिरहेको र फ्लोभेलसँगको सहकार्यले इलेक्ट्रो-मेकानिकल पक्षलाई थप सुनिश्चित बनाएको बताए । 'हामीले आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य राखेका छौं, फ्लोभेलजस्तो अनुभवी कम्पनीको प्रविधि र दक्षताले आयोजनालाई गुणस्तरीय बनाउन ठूलो मद्दत पुग्ने छ,' उनले भने, 'हाम्रो प्राथमिकता गुणस्तरीय मेसिनरी जडान गरी निर्धारित समयभित्रै राष्ट्रिय प्रणालीमा विद्युत् जोड्नु हो।'
यसैगरी, फ्लोभेलका प्रबन्ध निर्देशक कारले नेपालको जलविद्युत् बजारमा आफ्नो कम्पनीको बलियो उपस्थिति रहेको चर्चा गर्दै यस आयोजनामा पनि उत्कृष्ट प्रविधि प्रदान गर्ने प्रतिबद्धता जनाए । 'नेपालको ऊर्जा विकासको यात्रामा सहभागी हुन पाउँदा हामीलाई खुसी लागेको छ,' उनले भने, 'न्यादी-फिदीका लागि हामी उच्च दक्षतायुक्त आधुनिक उपकरणहरू आपूर्ति गरी निर्धारित समयभित्रै सम्पूर्ण प्राविधिक र जडानका कार्यहरू सम्पन्न गर्ने छौँ ।'
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण भइरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ३ अर्ब ८ करोड रुपैयाँ लगानी गर्ने बारे २०७७ साल असोजमा सम्झौता भइसकेको छ । आयोजनामा ७५ प्रतिशत र ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने छ ।
कम्पनीका अनुसार सेयधनीहरूमार्फत २५ प्रतिशत (१ अर्ब ३ करोड रुपैयाँ) स्वपुँजी लगानी जुटाइने छ । ४ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा संस्थापक लगानी गर्ने प्रवर्द्धकहरू जलविद्युत क्षेत्रमा अनुभव भएका, विभिन्न व्यवसाय तथा पेशमा संलग्ल व्यक्तिहरू छन् ।
आयोजनामा २३ सय मिटर लामो मुख्य सुरुङ र १४ सय ३३ मिटर पाइपलाइन रहने गरी डिजाइन गरिएको छ । नेपाल विद्युत प्राधिकरणले हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा आयोजनाले उत्पादन गर्ने विद्युत खरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि १९ किलोमिटर दूरीको २२० केभी तारीकुना सबस्टेसनमा लगेर जोडिने छ । विद्युत्गृहदेखि सबसटेसनसम्म निर्माण गर्नुपर्ने प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्ने छ ।