काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सत्यराम ज्याख्वा नियुक्त भएका छन् । असोज २ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई निर्णय भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मका लागि सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । ज्याख्वा यसअघि रसुवाको उत्तरी सीमा क्षेत्रमा कम्पनीले निर्माण गरी सञ्चालन गरिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र प्रमुखको जिम्मेवारीमा कार्यरत थिए ।
गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भएको उक्त जलविद्युत् केन्द्रलाई सञ्चालनमा ल्याउन हाल पुनर्निर्माण तथा मर्मत–सम्भारको काम चलिरहेको छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा पर्ने उक्त जलविद्युत् केन्द्रले २०८१ पुस १६ गतेदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन सुरु गरेको थियो ।