काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरी सिलवाललाई जिम्मेवारी दिने निर्णय गरको हो ।
सरकारले गत चैत ११ गते शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । झण्डै ६ महिनापछि शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको छ । फरक परिस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणमा ल्याएको छ ।
२०८१ साल माघ ११ गते प्राधिकरण उपकार्यकारी निर्देशककाे ५ वर्षे जिम्मेवारी पूरा गरी ५४ वर्षमा अनिवार्य अवकाश भएका सिलवालले करिब ८ महिनापछि कार्यकारी निर्देशकको जिम्मेवारी प्राप्त गरेका छन् ।
२०४३ सालमा शान्ति विद्यागृह लैनचौरबाट एसएलसी उत्तीर्ण गरेका सिलवाल २०४६ सालमा ओभरसियरका रूपमा प्राधिकरणको अस्थायी सेवामा प्रवेश गरेका थिए । ओभरसियरमै स्थायी भएपछि उनी २०५७ सालमा मात्र इन्जिनियरमा बढुवा भई २०६२ सालमा अन्तर्राष्ट्रियस्तरको कार्य अनुभव संगाल्न न्यूजील्याण्डमा समेत रहेर काम गरेका थिए । उनले काठमाडौँ विश्वविद्यालय (केयू) बाट स्नातक र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर (एमएससी) सम्मको अध्ययन पूरा गरेका छन् ।
२०६७ सालमा प्रबन्धमा बढुवा भई बुटवल–कोहलपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनको नेतृत्व सम्हालेका थिए । त्यसपछि, सिलवाल २०६९ सालमा अत्तरिया क्षेत्रीय कार्यालयको प्रमुख (२१ महिना), सामुदायिक विद्युतीकरण विभागको प्रमुख हुँदै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको मुख्य जिम्मेवारी सम्हाल्न पुगेका थिए ।
त्यसैबीचमा निर्देशकमा बढुवा भएका उनी केही महिना प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयमा रही २०७३ सालदेखि करिब ४ वर्ष आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुख भएका थिए । त्यहाँबाट इन्जिनियरिङ सेवा निर्देशनायमा सरुवा भई करिब ८ महिना जिम्मेवारीमा रहेपछि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयमा सरुवा भएका थिए । यस निर्देशनालयमा उनले करिब साढे ३ वर्ष जिम्मेवारी पूरा गरी सेवा निवृत भएका थिए ।