काठमाडौँ । सप्तरीको तिरहुत गाउँपालिकाले स्थानीय किसानको सिँचाइ मिटरको बक्यौता महसुल नेपाल विद्युत् प्राधिकरणको कञ्चनपुर वितरण केन्द्रलाई बुझाएको छ । तिरहुत गाउँपालिकामा रहेका सम्पूर्ण किसानको सिँचाइ मिटरको आर्थिक वर्ष २०७९र०८० र २०८०र०८१ को हालसम्म बाँकी रहेको ९ लाख ६९ हजार ७९० रूपैयाँ महसुल बुझाएको हो ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादवले बताए ।
कार्यक्रममा गाउँपालिका प्रमुख विजय यादवले आफू पनि किसान परिवारकै सदस्य भएको भन्दै तिरहुतका किसानले आकाशे वर्षामा मात्र भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको बताए । ‘अब आकाशे खेती गर्नुपर्दैन,’ प्रमुख यादवले भने, ‘प्राधिकरणबाट सिँचाइ मिटर लिँदा सिँचाइ मिटरको महसुल गाउँपलिकाले नै तिरिदिने भएकोले उत्साहका साथ खेती गर्न मेरो आग्रह छ ।’ प्रमुख यादवले अगामी आवमा किसानलाई सुबिधा दिने यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।
केन्द्र प्रमुख साहले किसानको सिँचाइ मिटरको विद्युत् महसुल तिरिदिने तिरहुत गाउँपालिकाकाे याे कार्य ऐतिहासिक भएको बताए । यसरी किसानको महसुल तिरिदिने तिरहुत जिल्लामै पहिलो पालिका भएको उल्लेख गरे । यसले कृषि प्रधान देश कृषि क्रान्तिको बाटोतिर अग्रसर हुँदै गएको देखाएको पनि उनले बताए ।
प्रमुख साहले जिल्लाकै महादेवा गाउँपालिकाले पनि किसानको कृषि मिटरको विद्युत् महसुल प्राधिकरणलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।