काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म कुल १९ हजार २०६.३२ मेगावाटका २४४ जलविद्युत् र १ हजार ९७३.५ मेगावाटका ८२ सौर्य ऊर्जा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र वितरण गरेको छ । गत आर्थिक वर्ष (२०८२/८३) को अन्त्यसम्ममा विभागले यो प्रगति हासिल गरेको हाे ।
त्यस्तै, हालसम्म जलविद्युत्तर्फ कुल १२ हजार ३३४.६ मेगावाटका २४६ आयोजनालाई उत्पादन अनुमतिपत्र वितरण गरेको छ । सौर्य ऊर्जातर्फ कुल ५४.६ मेगावाटका १० वटा आयोजनाले यस्ताे अनुमति पाएका छन् ।
विभागकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र जलविद्युत्तर्फ कुल ३ हजार २९१.४४१ मेगावाटका १९ वटा आयोजना र सौर्य ऊर्जातर्फ कुल ३११ मेगावाट ७ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरिएको छ । गत आर्थिक वर्षमा उत्पादन अनुमतिपत्रतर्फ १ हजार ५८७.६ मेगावाटका २१ जलविद्युत् र ३१.२ मेगावाटका ३ सौर्य ऊर्जा आयोजनाले अनुमति पाएका छन् ।
प्रसारण लाइनतर्फ ४००, २२०, १३२, ६६ र ३३ केभी का प्रसारण लाइन आयोजनाले सर्वेक्षण तथा निर्माण अनुमति पाएका छन् ।
विभागका अनुसार सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र वितरणमार्फत वार्षिक २ देखि २.५ अर्ब रुपैयाँसम्म रोयल्टी सङ्कलन हुँदै आएको छ । उक्त रकम नेपाल सरकारको राजस्वमा योगदान पुग्नुका साथै प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने भएकाले आर्थिक सुदृढीकरण र विकासमा समेत महत्वपूर्ण योगदान पुगेको विभागले जनाएको छ ।
आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्त गर्न विभागले आफ्नाे कार्यसम्पादनलाई अझ प्रभावकारी उत्तरदायी र परिणाममुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।