काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आयोगको सदस्य पदका लागि ९ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ । समितिको निर्णय र मापदण्डअनुसार दरखास्त दिएकामध्ये न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा उक्त सूची निकालिएको हो ।
व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू छनोटमा परेको समितिले जानकारी दिएको छ । छनोट भएका उम्मेदवारहरूमा निरज्वल बस्नेत (उदयपुर), रुद्रप्रसाद सिटौला (काठमाडौँ), जयराज भण्डारी (काठमाडौँ), लोकराज पाठक (काठमाडौँ), बलराम सिलवाल (धादिङ), विज्ञानप्रसाद श्रेष्ठ (काठमाडौँ), अर्जुनकुमार गौतम (भक्तपुर), नरेन्द्रसिंह भण्डारी (काठमाडौँ) र नारायणप्रसाद सापकोटा (भरतपुर) रहेका छन् ।
यो पनि पढ्नुहोस्ः विद्युत् नियमन आयोगको अध्यक्षका लागि ७ जनाको नाम 'सर्ट लिस्ट'मा
यी उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी असार ८ गते सोमबारका दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हुने तय भएको छ । समितिले उक्त कार्यक्रमलाई दुई सत्रमा विभाजन गरेको छ, जसअन्तर्गत बस्नेत, सिटौला, भण्डारी, पाठक र सिलवाल सम्मिलित प्रथम सत्रको कार्यक्रम बिहान ९:०० बजेदेखि सुरु हुनेछ ।
यसैगरी, श्रेष्ठ, गौतम, नरेन्द्र भण्डारी र सापकोटा सम्मिलित दोस्रो सत्रको कार्यक्रम सोही दिन दिउँसो २:०० बजेदेखि सुरु हुने मन्त्रालयले जनाएको छ । उम्मेदवारहरूका लागि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको अवधि अधिकतम १५ मिनेट तोकिएको छ ।