काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालका नगरपालिकामा प्रभावकारी खानेपानी आपूर्ति र सरसफाइ सेवा सुधार तथा संस्थागत क्षमता सुदृढ गर्न ११.५० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।
'इन्टिग्रेटेड वाटर सप्लाइ एण्ड सिवरेज म्यानेजमेन्ट (सेक्टर) परियोजना' अन्तर्गत यो लगानीबाट १३ नगरपालिकामा ८ लाख ५० हजारभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपालमा तीव्र सहरीकरणले अत्यावश्यक सहरी सेवाको आपूर्तिमा बढ्दो दबाब सिर्जना गरिरहेको समयमा धेरै समुदायमा सुरक्षित खानेपानी र सरसफाइ सेवाको पहुँच सीमित रहेको एडिबी नेपालका लागि आवासिय निर्देशक अर्नो कुस्वाले बताए ।
'यस परियोजनाले सुरक्षित र भरपर्दो खानेपानी तथा सरसफाइ सेवामा पहुँच विस्तार गर्नेछ, प्राकृतिक प्रकोप तथा जोखिम समेत घटाउनेछ,' उनले भने, 'स्वास्थ्यकर, बस्नयोग्य तथा दिगो सहर निर्माणसँगै समावेशी आर्थिक अवसरलाई प्रवर्द्धन गर्नेछ।'
परियोजना अन्तर्गत करिब ६४ वटा ट्युबबेल निर्माण, प्रतिदिन करिब ६ करोड लिटर प्रशोधन सुविधा तथा करिब २,१२५ किलोमिटर पानी वितरण सञ्जाल विस्तार हुने एडिबीले जानकारी दिएको छ । करिब ७२ हजार घरधुरी—विपन्न तथा महिला प्रमुख घरधुरीमा पाइपलाइन खानेपानी जडान उपलब्ध गराइने पनि जनाइएको छ ।
एडिबीका अनुसार छनोट भएका नगरपालिकामा ढल तथा निकास प्रणालीको स्तरोन्नति, नयाँ तथा पुनर्स्थापित फोहोर पानी प्रशोधन केन्द्र, तथा फिकल स्लज प्रशोधन केन्द्रमार्फत सरसफाइ सेवा विस्तार र सुधार गरिनेछ । यसबाट १ लाख २० हजारभन्दा बढी संरचनालाई सुधारिएको सरसफाइ सेवामा पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
परियोजनामा जलवायु अनुकूलन तथा उत्सर्जन न्यूनीकरणसम्बन्धी उपाय पनि समावेश रहेका छन्, जसका लागि ७ करोड ५२ लाख ७० हजार अमेरिकी डलर छुट्याइएको छ । यसले वार्षिक २२ हजार टनभन्दा बढी कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन घटाउने अनुमान गरिएको छ । साथै, नगरपालिकाको सम्पत्ति व्यवस्थापन, वित्तीय दिगोपन, डिजिटल प्रणाली, र सरसफाइ तथा जोखिमसम्बन्धी जनचेतना अभिवृद्धिमा पनि क्षमता सुदृढ हुने विश्वास छ ।
यो परियोजना नेपालको सोह्रौँ योजनासँग मेल खाने, एडीबीको नेपालसम्बन्धी आवाशीय साझेदारी रणनीतिसँग सुसंगत, तथा दिगो र एकीकृत फोहोर पानी व्यवस्थापन प्रणालीतर्फको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिने किसिमको रहेको छ ।
एडिबीको यस परियोजनामा नेपाल सरकारको २ करोड ८८ लाख अमेरिकी डलर बराबरको सहलगानी पनि रहनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कार्यान्वयन परियोजनामा खानेपानी तथा ढल व्यवस्थापन विभाग र सम्बन्धित नगरपालिकाले सहकार्य गर्नेछन् । कुल १४ करोड ३८ लाख अमेरिकी डलर लागतको यो परियोजना सन् २०३२ जुनसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
एडिबी एसिया र प्रशान्त क्षेत्रमा समावेशी, दिगो तथा लचिलो विकासलाई प्रवर्द्धन गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो । सदस्य राष्ट्रहरू र साझेदारसँग मिलेर जटिल विकास चुनौतीको समाधान खोज्दै एडिबीले नवीन वित्तीय उपकरण र रणनीतिक साझेदारीमार्फत जीवनस्तर सुधार, गुणस्तरीय पूर्वाधार निर्माण, तथा वातावरण संरक्षणमा योगदान दिँदै आएको छ । सन् १९६६ मा स्थापना भएको एडिबीमा हाल ६९ सदस्य राष्ट्र छन्, जसमा ५० वटा क्षेत्रीय सदस्य राष्ट्रहरू रहेका छन् ।