काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा विद् कुशल गुरुङलाई वैकल्पिक ऊर्जा विकास समितिको सदस्यमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मंगलबार (असार ५ गते) मन्त्रीस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि मनोनयन गरेको हो ।
गुरुङ झण्डै दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशिल रहेर यस क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । गुरुङ वीन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत र गण्डकी ऊर्जा प्रालिका सञ्चालक हुन् ।
गण्डकी ऊर्जाले पोखरा महानगरपालिका–३२ मझुवामा वायोग्यास प्लान्ट स्थापना गरी वायोग्यास र मल उत्पादन गरिरहेको छ । यसैगरी, वीन्ड पावरले सौर्य तथा वायु ऊर्जा, वायोग्यास र हाइड्रोपोनिक्स फार्मिङ सम्बन्धी कार्य गर्दै आएको छ । यसैगरी, हरित ऊर्जा विकासका लागि खोज तथा अनुसन्धानको काम पनि गरिरहेको छ ।