काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक दीपक चौधरी सप्तरी–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि उनले उज्यालो नेपाल पार्टीबाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । प्राधिकरणमा २२ वर्ष सेवा गरी हालै प्रबन्धक पदबाट राजीनामा दिई उनी राजनीतिमा सक्रिय भएका हुन् ।
नेतृत्व विषयमा विद्यावारिधि गरेका डा. चौधरीको प्रशासकीय, व्यवस्थापकीय तथा नीतिगत विषयमा राम्रो दख्खल छ । २ दशकभन्दा लामो समयदेखि ऊर्जा क्षेत्रको अध्ययन र विकासमा सक्रिय उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानसम्बन्धी थुप्रै लेख तथा कृतिहरू प्रकाशित गरेका छन् । चौधरीका ‘मधेशी समाज’, ‘मधेश विद्रोहको सेरोफेरोमा रहेको रूपान्तरण’, ‘विकासको सन्दर्भमा पूर्वी एसियाको आँखीझ्याल’, ‘तराई/मधेश अफ नेपाल एन्थ्रोपोलोजिकल स्टडी (अंग्रेजीमा)’ जस्ता कृतिहरू प्रकाशित छन् । यी कृतिमार्फत उनले मधेशको अधिकारका लागि वकालत गर्दै आएका छन् ।
नेपालको अधिकांश गाउँबस्ती र कैयौँ देशको समेत भ्रमण गरेका चौधरी विकास विज्ञ, कुशल व्यवस्थापक, अनुसन्धाता र सामाजिक अभियन्ताको रूपमा चर्चित छन् । नातावाद, कृपावाद, जातिवाद, सम्भ्रान्तवाद, भ्रष्टचार जस्ता विकृतिलाई समाजको सबैभन्दा ठूलो शत्रु मान्ने चौधरी यस्ता विकृतिको उन्मुलनका लागि आफ्नो ठाउँबाट सक्रिय रहँदै आएका छन् । देशमा सुशासन तथा सामाजिक न्यायसहितको समृद्धि आफ्नो लक्ष्य भएको चौधरीले बताएका छन् ।
सप्तरी बिषहरियाका मूलवासीसमेत रहेका चौधरीको मुख्य प्रतिस्पर्धा जनमत पार्टीका अध्यक्षसमेत रहेका डा. सिके राउतसँग हुने देखिएको छ ।