दोलखा । देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् केन्द्र (४५६ मेगावाट) तिहारअघि नै सञ्चालनमा नआउने भएको छ । जलविद्युत केन्द्रको हेडवर्क्स भएको लामाबगर पुग्ने सडक नै अवरुद्ध भएको कारण क्षतिग्रस्त संरचनाको मर्मत गर्न समय लाग्ने भएको हो । क्षतिग्रस्त भूमिगत क्यानल र कम क्षति भएको एउटा बालुवा थिग्र्याउने पोखरी मर्मत गरी सञ्चालन गर्ने तयारी थाले तापनि सामान लैजान सडक नै नभएपछि मर्मतमा समेत समस्या भएको हो ।
पहिरोले विगू गाउँपालिका– १ काभ्रेभीरभन्दा केहीमाथि करिब एक सय मिटर बाटो नै विच्छेद गरेको छ । भीरको सडक तल र माथि दुवैतिरबाट ग्याबिनसहित पहिरो खसेपछि हिँड्नसमेत कठिन भएको छ । पहिला सडक सुचारु नभई अरु काम शुरु नै गर्न नसकिने अवस्था भएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गौतमले जानकारी दिए ।
अहिले सडकको पुर्ननिर्माण तथा क्षतिग्रस्त क्यानल र कम क्षति भएको बाँयातर्फको डिस्याण्डर मर्मतका लागि रोल्वालिङ जलविद्युत् आयोजनाको ठेकेदार हाइ हिमाल कन्ट्रक्सनलाई जिम्मेवारी दिएको छ । पहिला सडक निर्माण भएपछि माथि सामान लगेर क्षतिग्रस्त विद्युत् केन्द्रको पुर्ननिर्माण गर्न समय लाग्ने उनले बताए । सडक निर्माणका लागि पनि ठूला ठूला ढुङ्गा बिस्फोट गराउनु पर्ने बाध्यता रहेको छ । सिंगटीको ४६ नम्बर टावर भाँच्चिएको छ । सडक बन्द भएपछि लामाबगर आवत जावत नै बन्द छ ।
गत असोज १२ गते परेको अबिरल वर्षाका कारण माथिबाट पहिरो आई संरचना क्षतिग्रस्त भएपछि उत्पादन बन्द हो । उत्पादन बन्द भएपछि विद्युत् विक्रीबाट २५ दिनदेखि दैनिक ४ करोड आम्दानी गुमेको छ भने भारत निर्यातसमेत प्रभावित भएको छ ।
यसरी हुँदैछ अस्थायी सञ्चालनको तयारी
सडक सुचारु भएपछि सामान्य ममर्त गरी खोलामा पानी उपलब्ध भएसम्म नदी प्रवाही (आरओआर) प्रणालीबाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको सीईओ गौतमले बताए । क्षतिग्रस्त दुईवटा सेटलिङ बेसिन (बालुवा थिग्य्राउने पोखरी) मध्ये कम क्षति भएको संरचनाको मर्मत भइरहेको छ । त्यसको मर्मत गरी आंशिक रूपमा नदी प्रवाही प्रणालीमा बिजुली उत्पादन गर्न सकिने सम्भावना रहेको गौतमले जानकारी दिए ।
पहिरोले क्षति पुर्याउनुअघि जलविद्युत् केन्द्रले भदौ अन्तिमदेखि कात्तिक महिनाभर चौबीसै घण्टा र नदीमा पानी घटेका कारण दिनभरि पानी जम्मा गरेर साँझपख जडित क्षमता ४५६ मेगावाटमै उत्पादन हुँदै आएको थियो । यसअघि समुद्र सतहदेखि १९८७ मिटरको उचाइसम्म पानी जम्मा गर्न सकिन्थ्यो । माथिबाट ढुंगसहितको पहिरोले सेटलिङ बेसिन क्षति पुर्याएपछि पानी जम्मा गर्न नसकिने अवस्था हो ।
जलविद्युत् केन्द्रले समुद्र सतहदेखि १८८३ मिटर उचाइको तह निर्धारण गरी खोलामा जति पानी छ, त्यति नै पठाएर बिजुली उत्पादन गर्ने तयारी भइरहेको सीईओ गौतमको भनाइ छ । केन्द्रको जलाशयमा पानीको तह न्यूनतम सतह १९८२.५ र अधिकतम १९८७ हुने गरेको छ ।
गौतमका अनुसार यसरी नदी प्रवाही प्रणालीमा चलाउँदा कात्तिकमा ३०० मेगावाट, मंसिरमा १७०, पुसमा १५०, माघमा १०० र फागुन–चैतमा ७६ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।
उनका अनुसार पहिरोले दायाँतर्फको डिस्यान्डर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी बक्स कल्भर्टमा २० प्रतिशत क्षति पुगेको छ भने नियन्त्रण कक्ष रहेको भवन पूर्ण रूपमा ध्वस्त भएको छ । बायाँपट्टिको डिस्याण्डर कम क्षति भएको तर १० मिटर अग्लो ढुङ्गा झरेर बसेको छ ।
पहिरो र बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण अनुसार १ अर्ब ८० करोड रूपैयाँको बीमा दाबी गरिएको छ । जलविद्युत् केन्द्रका संरचनाहरूको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ । पहिरोले क्षति पुर्याएकाे संरचनाहरूकाे पुनर्निर्माण नेपाल विद्युत् प्राधिकरणकाे सहायक एनईए इन्जिनियरिङ कम्पनीकाे परामर्श र सिफारिसका आधारमा भइरहेकाे छ ।
‘आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल संरचनाको प्रारम्भिक क्षति अनुमान १ अर्ब ८० करोड रूपैयाँ छ,’ सीईओ गौतमले भने, ‘राम्रो ठेकेदार पर्यो भने आगामी वर्षको हिउँदअघि जलविद्युत् केन्द्र पूर्ण रूपमा सञ्चालन गर्ने लक्ष्य छ ।’
दशैं बिदामा पनि निरन्तर पुनर्निर्माण कार्य भइरहेको कम्पनीका प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए । शनिबार ऊर्जा मन्त्री दिपक खड्का सहितको टोलीले स्थलगत भ्रमण गरी जलविद्युत् केन्द्रको पुर्ननिर्माण चाँडो गर्न निर्देशन दिका छन् । मन्त्रीसँगै मन्त्रालयका सचिव सुरेश आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल सहित सुरक्षा अधिकारीसमेतले केन्द्रको निरीक्षण गरेका थिए । यसअघि पहिरोले क्षति पुर्याए लगत्तै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तमाङको नेतृत्व टोलीले स्थलगत भ्रमण गरेका थिए ।