काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा अहिले पनि १२ घण्टा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन् । राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा बुधबार मन्त्री खड्काले यस्तो बताएका हुन् ।
‘हामीले अब लोडसेडिङ् हट्यो भनेर घोषणा गरिरहँदा उद्योग क्षेत्रमा हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘खाली के गरिएको थियो भने उद्योग क्षेत्रमा विद्युत् कटौती गरी घरायसी उपभोक्तालाई दिइएको थियो ।’ हाल घरायसी उपभोगकै लागि विद्युत् माग पूरा गर्न समेत भारतबाट ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब १ हजार मेगावाट रहेको छ ।’
उनका अनुसार उद्योग क्षेत्रमा लोडसेडिङको चुनौती रहे पनि घरायसी उपभोक्तालाई भने नियमित विद्युत् आपूर्ति गर्न मन्त्रालयले आवश्यक कदम चाल्ने उनले बताए । आफूले मन्त्रालय सम्हालेको साढे ७ महिना मात्रै भएको र यति समयमै विद्युत् उत्पादनमा चामत्कारिक परिणाम नदेखिने तर परिणाम देखिने गरी २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनकाे नयाँ मार्गचित्र अनुसार अघि बढिएकाे उनको भनाइ थियो ।
उनले वर्षायाममा उत्पादित कुल ३ हजार ५०० मेगावाटमध्ये ७०० मेगावाट मात्र नेपाल विद्युत प्राधिकरण (नेपाल सरकार) ले उत्पादन गर्ने र बाँकी विद्युत् निजी क्षेत्रबाट आउने गरेको उनले जानकारी गराए ।
मन्त्री खड्काले ‘उद्योगमा आज पनि १२ घण्टासम्म लोडसेडिङ छ’ भन्ने कुरा बैठकमा उठेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि लोडसेडिङ नहुने प्रतिबद्धता जनाए ।
उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा सार्वजनिक भएको प्राधिकरणको नाफासम्बन्धी विवरणबारे पनि पुनः अध्ययन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । चमेलिया जलविद्युत आयोजनामा काम गरेको संस्थालाई भुक्तानी नहुँदा प्राधिकरणको बैंक खाता रोक्का भएको भन्दै उनले यस्तो बताएका हुन् ।
मन्त्रालयलाई यसबारे समयमै जानकारी नदिइएको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयको समाधान गर्न आवश्यक अध्ययन र समन्वय भइरहेको बताए ।