काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले सम्झाैताअनुसार नेपाललाई दिने भनिएको आर्थिक सहायता स्थगित भएको छ । एमसिसीले फागुन २ गते इमेलमार्फत पत्र पठाएर सहायता स्थगित गरेको जनाएको हो । उक्त पत्र प्राप्त भएपछि अब नेपाल सरकार र एमसिसीबीच नेपालबीच २०७४ भदौ २९ मा भएको कम्प्याक्ट सम्झौताअनुसार एमसिए नेपालको स्थापना गरी अघि बढेकाे प्रसारण पूवार्धार निर्माणका सबै काम रोकिने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा जारी गरेको अमेरिकी सहायता स्थगन सम्बन्धी ९० दिने कार्यकारी आदेशानुसार एमसिसीका सबै कार्यक्रम स्थगित भएको अर्थ मन्त्रालयले जानारी दिएको हो । अर्थ मन्त्रालय र एमसिसीबीच भएको कम्प्याक्ट सम्झौतालाई नेपालको संसदले २०७८ फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो ।
राजनीति दलबीच लामो विवादपछि संसदबाट अनुमोदन भएको एमसिसी अनुदानसमेत रोकिए पनि अब यसअन्तर्गत अघि बढ्ने परियोजनामा अन्योल देखिएको छ । सुरुमा ५० करोड अमेरिकी डलर अनुदान उपब्ध गराउने र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने गरी यो परियोजना अघि बढेको थियो । एमसिसीले केही समयअघि मात्रै उक्त अनुदान सहायतामा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको अतिरिक्त अनुदान सहयोग थप गर्ने निर्णय गरेको थियो ।
यस अनुदान परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन बनाउने योजना थियो । यसअन्तर्गत काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने योजना थियो ।