काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय आत्मसम्मान, दिगो ऊर्जा विकास र हिमाल संरक्षणसम्मका विषय समेटेर चुनावी ‘दृष्टिपत्र’का रूपमा आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । पार्टीको नयाँ दृष्टिपत्रले नेपाललाई ऊर्जा–समृद्धका साथै वातावरणीय रूपमा जिम्मेवार राष्ट्रका स्थापित गर्ने लक्ष्य अघि सारेको छ ।
दस्तावेजले ऊर्जा स्वाधीनतालाई आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोड्दै, जलस्रोतको समुचित उपयोगमार्फत समृद्धिको आधार तयार गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ । दृष्टिपत्रको मूल भाव नै ‘ऊर्जा स्वाधीनता नै आत्मसम्मानको आधार’ हो भन्ने अवधारणामा केन्द्रित छ । यद्यपि, त्यसले विकास र संरक्षणबीचको सन्तुलनलाई पनि उत्तिकै महत्त्व दिएको छ । हिमाल संरक्षणलाई राष्ट्रिय अस्तित्वसँग जोड्दै, हिमाली पारिस्थितिक प्रणाली, हिमनदी र जलचक्रको दीर्घकालीन सुरक्षालाई ऊर्जा नीतिसँगै समेटिएको छ ।
जलविद्युत् विकास गर्दा वातावरणीय प्रभावलाई ध्यानमा राख्ने सङ्केत गरेको छ । हिमाल संरक्षणको सन्दर्भमा, जलवायु परिवर्तनबाट तीव्र गतिमा प्रभावित हिमाली भूभागको संरक्षणलाई केवल वातावरणीय मुद्दा नभई ऊर्जा सुरक्षासँग जोडिएको रणनीतिक विषयका रूपमा अघि बढाइने सङ्केत छ । ऊर्जामार्फत समृद्ध नेपालको परिकल्पना गरिएको यो दृष्टिपत्रको विकासलाई आत्मसम्मानसँग जोड्ने अवधारणाले मनोवैज्ञानिक र राजनीतिक सन्देश पनि दिन्छ ।
ऊर्जा विकासदेखि हिमाल संरक्षणसम्मलाई एउटै राष्ट्रिय परियोजनाका रूपमा हेर्ने यो दृष्टिकोण सफल कार्यान्वयनमा निर्भर रहने देखिन्छ । यदि घोषणा व्यवहारमा रूपान्तरण भयो भने, देशले ऊर्जा स्वाधीनता र वातावरणीय सन्तुलन दुवै हासिल गर्दै आत्मसम्मानमा आधारित समृद्धिको मार्ग समाउन सक्ने देखिन्छ ।