काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आपसमा मिलेरै काम गर्नुपर्ने धारणा आम नागरिकले व्यक्त गरेका छन् । घिसिङले जेन–जेड आन्दोलनको माग अनुसार शाक्यले मार्ग प्रशस्त गर्नुपर्ने आशय व्यक्त गरेपछि आम नागरिकको यस्तो धारणा आएको हो ।
शाक्यले बुधबार मात्रै ऊर्जा खबरसँग कुरा गर्दै मन्त्रीको टिमभित्रै रहेर काम गर्न आफू इच्छुक रहेको बताएका थिए । त्यसलगत्तै घिसिङले भने जेन–जेड आन्दोलनको मर्म अनुसार अगाडि बढ्नुपर्ने भन्दै घुमाउरो रूपमा शाक्यले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका थिए । तथापि उनले पदभार ग्रहण गरेकै दिन भनेका थिए – चाहे मेरै शत्रु रहेछन् भने पनि कसैसँग पनि वैरभाव नराखी, पूर्वाग्रह नराखी सही योग्य व्यक्तिलाई सही ठाउँ दिने छु ।
मन्त्री र कार्यकारी निर्देशकको उल्लिखित धारणा बाहिर आएपछि प्राधिकरणका कर्मचारीहरूसहित आम नागरिकले सामाजिक सञ्जाल (फेसबुक) मार्फत दुवै जना मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । ऊर्जा खबरले शाक्यको अभिव्यक्ति अनुसार ‘मेरो स्वार्थ छैन, प्राधिकरणमै रहेर मन्त्रीज्यूको टिममै बसेर काम गर्ने हो’ शीर्षकको खबर प्रकाशन गरेपछि यही खबरमाथि धेरैले दुवैबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
वरिष्ठ साहित्यकार उषा शेरचनले दुवै इन्जिनियर क्षमतावान रहेको हुँदा मिलेर काम गर्नुपर्ने भन्दै यस्तो धारणा राखेकी छन् –
शेरचनको टिप्पणीमा पुरुषोत्तम मरहठ्ठा लेख्छन् – यो समय बद्ला लिने हैन ! संस्कार र संस्कृतिको विकास गर्दै दुवैको सीपलाई किन देश हितमा नलाउने ? दुवै मिलेर काम किन नगर्ने ? देशको ऊर्जा निर्याततर्फ ध्यान दिएर मुलुकको बजेट घाटा कम गर्नेमा दुवै इन्जिनियर लाग्नुस् ।
यस्तै, गम बयम्बु मगरको प्रतिक्रिया छ – मिलेर देशको विकासमा लाग्नु नै बद्धिमानी हुनेछ ।
ऊर्जा खबर फेसबुक पेजमा फुर्वा साङ्गे लामा लेख्छन् – सही निर्णय आदरणीय हितेन्द्र सर ! पहिलो कुरा कुलमान सर र हितेन्द्र सर नेपाल विद्युत् प्राधिकरणमा झण्डै ३० वर्षसम्म सँगसँगै काम गरेर सहकार्य गरेको व्यक्तिहरू हुनुहुन्छ । अहिले फेरि एउटा सुनौलो अवसर जुरेको छ । कुलमान सर मन्त्री हितेन्द्र सर कार्यकारी निर्देशक, यो एउटा सन्जोग नै हो । हाम्रो लागि पनि सौभाग्यको कुरा हो । त्यसैले फेरि उज्यालो नेपाल, समृद्ध विद्युत् प्राधिकरण चुस्तदुरुस्त व्यवस्थापन बनाउने अभियानमा तपाईंहरू दुवैजना आदरणीय व्यक्तित्वसँग हातेमालो गर्दै काम गर्ने अवसर पाउनु पनि हाम्रा लागि भाग्यको कुरा हो । तसर्थ, अब दुवै जना सँगसँगै यात्रा गरेर अगाडि बढेको हेर्न चाहन्छौँ हामी । सबैको जय होस् ।
सोही पेजमा दीपकराज गिरी लेख्छन् – कुरा ठीक हो। अहिलेको अवस्थामा भएकैबाट काम लिने हो । चुनावी सरकारको प्राथमिकता चुनाव नै हुनुपर्छ ।
मन्त्री र कार्यकारी निर्देशकबीच सहकार्य जरुरी रहेको भन्दै प्राधिकरण उत्पादन निर्देशनालय अन्तर्गतको निर्माण सहायता महाशाखा प्रमुख शिवराम केसीले फेसबुकमा लेखेका छन् – हामी नेविप्रा कर्मचारीहरू दुवैलाई मिलेर कार्य गर्न अनुरोध गर्दछौँ । कुलमान सरले जेनजी पुस्ताको आन्दोलनमा टेकेर अबदेखि भ्रष्टचार रोक्ने प्रतिबद्धता जनाउनु भएको छ । पहिल्यैदेखि जागिरको दौरानमा समेत भ्रष्टचार नगरेका हितेन्द्रदेव शाक्य सरको फ्युजनबाट नेविप्राले अझै प्रगति गर्ने छ भन्ने हामी सबैले विश्वास लिएका छौँ । सुरुदेखि नै कुलमान सर व्यवस्थापनमा अब्बल सेलिब्रेटी हुन् भने हितेन्द्रदेव शाक्य प्राविधिक विशेषज्ञतामा अब्बल हुन् । दुवै संस्थाका लागि आवश्यक मान्छे हुन् । कुलमान सर आज नीति बनाउने ठाउँमा हुनुहुन्छ । राम्रो नीति बनाउनू, प्राधिकरणको हितमा कार्यन्वयन हितेन्द्र सरले जसरी पनि गर्नुपर्छ । प्रतिशोध साँधेर अगाडि बढ्दा जेनजीप्रतिको अपमान हुन्छ । देश हामी सबैले मिलेर बनाउने हो ।
केसीकै धारणामाथि प्रतिक्रिया जनाउँदै कविसमेत रहेका नेपाल सरकारका पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङ लेख्छन् – अर्थमन्त्री रामेश्वर खनालको उदाहरणलाई अनुशरण गर्नु बेस हुन्छ । उहाँले कुनै पनि कर्मचारीलाई नचलाउने, यही मौजुदा टीमबाट काम गर्ने हो । यदि कसैले काम नै गरेन वा गर्न सकेन भने मात्र सोच्नु पर्ने हो भनी बहाली हुँदाको बैठकमा भन्नुभएको मेडियामार्फत सुनियो । ६ महिने कार्यकालमा त्यसो गर्नु नै वर्तमान सरकारको मक्सद पनि होला । कर्मचारी फेरबदल गर्न लाग्यो भने त फेरि ओली र प्रचण्ड सरकारकै गन्ध नआउला र ? यो अन्तरिम र चुनावी सरकार हो है सर ।
महाशाखा प्रमुख केसीले फरक सन्दर्भमा लेखेका छन् – साँच्चै भ्रष्टचारमुक्त नेविप्रा बनाउने हो भने म कुलमान सर वा हितेन्द्रदेव शाक्य सरको सचिवालयमा बसेर काम गर्न तयार छु । मन्त्रीज्यू कार्यकारी निर्देशकज्यू र सचिवालय काम गर्ने सबैको सम्पत्ती छानबिन सुरुवात मेरोबाटै गर्न अनुरोध छ ।