काठमाडौँ । कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अप्पर लोहोरे खोला जलविद्युत् आयोजनाको निर्माण पूरा भई सञ्चालनमा आएको छ । जसमा जेपर्ट हाइड्रो जिएमबिएच (अष्ट्रिया) का इलेक्ट्रो-मेकानिकल उपकरण जडान गरिएको छ ।
अप्पर लोहोरे रन-अफ-रिभर प्रणालीमा आधारित रहेको हुँदा यसले नदीको प्राकृतिक प्रवाह प्रयोग गरी वातावरणमा न्यूनतम असर पार्दै स्वच्छ ऊर्जाको उत्पादन गर्नेछ । आयोजनामा जडित टर्बाइन, जेनेरेटर, इलेक्ट्रिकल र नियन्त्रण प्रणालीहरू सबै युरोपेली मापदण्डअनुसार निर्माण गरिएको जेपर्टको दाबी छ ।
जेपर्टले यसलाई नेपालमा उसको अर्को महत्त्वपूर्ण उपलब्धि मानेको छ । जेपर्टले हालसम्म अष्ट्रिया, भारत, नेपाल, टर्की र क्रोएसियामा कार्यालय स्थापना गरी व्यवसाय विस्तार गरिरहेको छ । कम्पनीका अनुसार युरोपबाट आयात गरिएको अत्याधुनिक, वातावरणमैत्री, उच्च दक्षताको उपकरण नेपालको जलविद्युत् क्षेत्रमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।
अप्पर लोहोरे नेपालमा जेपर्टका लागि एक प्रविधिगत माइलस्टोन रहेको जेपर्टका आवासीय निर्देशक राजकिशोर यादवले बताए । 'यसको ध्वनिरहित र वातावरणमैत्री सञ्चालनले स्थानीय समुदाय तथा प्रकृतिमा सकारात्मक योगदान पुर्याउँछ,' उनले भने, 'ग्रामीण क्षेत्रको पूर्वाधार विकास र हरित ऊर्जा प्रवर्द्धनमा पनि यसको विशेष भूमिका हुने अपेक्षा छ ।'
जेपर्टले अहिलेसम्म जलविद्युत् क्षेत्रमा १२५ वर्षभन्दा बढीको अनुभव हासिल गरेको जनाइएको छ । यस कम्पनी मार्फत हालसम्म ४० भन्दा बढी देशमा ५ हजारभन्दा बढी जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ । जसले निर्माणदेखि सञ्चालनसम्म सम्पूर्ण इलेक्ट्रो-मेकानिकल सेवा प्रदान गरिरहेको छ ।
जेपर्ट हाइड्रोको नेपालको जिम्मेवारी राजकिशोर यादवले सम्हालिरहेका छन् । हालसम्म कम्पनीले नेपालमा अप्पर लोहोरेसहित सुपर दोर्दी ‘बी’ (४२.९ मेगावाट) लगायत आयोजनामा काम गरिरहेको छ ।