काठमाडौँ । हिमालपारिको जिल्ला मनाङस्थित समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जा प्रणालीबाट विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको हो ।
प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले केही दिनअघिबाट सौर्य प्यानलको व्यवस्था गरी तिलिचो तालमा बत्ती बालिएको बताए । बत्ती पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्र प्रमुख महतोले जानकारी दिए ।
मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइसकेको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।
बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नु पर्छ । ताल वरिपरी बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको महतोले बताए ।