विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपाने आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपसहित दायर मुद्दामा विशेष अदालतले त्रुटिपूर्ण फैसला गरेको भन्दै पुनरावेदनका लागि सर्वोच्च अदालत जाने भएका छन् । व्यवसायमा ‘असल व्यावसायिक अभ्यास’ अनुशरण गर्दै आएको व्यक्तिप्रति कानुनको गलत व्याख्या गरिएकोमा उनले आपत्ति जनाएका हुन् ।

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष रहेका न्यौपानेले सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले वैशाख २ गते सुनाएको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावेदनका लागि सर्वोच्च अदालत जान लागेको उनले बताए ।

न्यौपानेले करिब ५ वर्षअघि भर्खरै सञ्चालमा आएको अनलाइन सेयर कारोबार प्रणाली टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मार्फत सेयर कारोबार गर्दा प्राविधिक त्रुटि भएको स्वीकारेका छन् । उनका अनुसार त्यसबेला रिडी पावरको २९ हजार ९५३ कित्ता सेयर बिक्री गरी ३९ हजार २३ कित्ता खरिद भएको थियो । यसमा प्राविधक त्रुटि स्वीकार गर्दै उनले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एक पटकका लागि आफूलाई नसिहत दिन अनुरोधपत्र लेखेका थिए । 
 
सेबोनले भने उनको अनुरोध बेवास्ता गर्दै सेयरको भित्री कारोबार नै भएको ठहर गरेको थियो । यही आधारमा सेबोनले न्यौपानेलाई ७५ हजार रुपैयाँ जरिवाना र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन नपाउने गरी रोक लगाएको थियो । यसलाई न्यौपानेले पूर्वाग्रहपूर्ण निर्णय मान्दै आएका छन् । ‘भित्री काराेबार नै गर्ने भए तत्कालीन समयमा मसँग रिडी पावरकाे १४ लाख कित्ता सेयर थियाे,' उनले प्रष्ट्याए, 'त्यति थाेरै मात्र किन काराेबार गर्थेँ हाेला र ?'

उल्लिखित विवरणका आधारमा सेबोनले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दासमेत दायर गरेको थियो । जिल्ला अदालतले फैसला नगर्दै पुनः सेबोनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत विशेष अदालतमा मुद्दा दायर गरेको विषयमा पनि न्यौपानेले असन्तुष्टि व्यक्त गरेका छन् ।

'एउटा प्राविधिक त्रुटिलाई लिएर सरकारी निकायबाट पटक–पटक प्रहार हुनु अन्यायपूर्ण छ,’ उनले भने, ‘यस्ता गतिविधिले देशको सिंगो औद्योगिक वातावरण खलबलिएको छ ।’ जिल्ला अदालतमा परेको मुद्दाको फैसलाले सेयरको भित्री कारोबार पुष्टि नहुने अवस्था निश्चित रहेको र फैसला आफ्नै पक्षमा आउने उनको दाबी छ ।

हाल सेबोनले सूचिकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालक तथा कर्मचारीको सेयर खरिद–बिक्री गर्न नपाउने गरी ‘लक’ गरेको छ । त्यतिबेलै यस्तो नियम ल्याइएको भए त्रुटि नहुने न्यौपाने दाबी गर्छन् । नयाँ प्रविधि चलाउन नजान्ने आफ्ना ग्राहकसम्म प्रभावकारी ढंगले सचेतना बढाउन र टिएमएसमार्फत हुने कारोबारको सूक्ष्म निगरानी गर्न ब्रोकर कम्पनीले समेत नसकेको उनको ठहर छ ।

सेबोन आफैँले पनि प्रत्यक्ष निगरानी, निरीक्षण सुपरीवेक्षण गर्ने दायित्व पूरा नगरेको न्यौपानेको आरोप छ । सेयर बजारको नियामक निकाय सेबोन, फ्रन्टलाइनमा रहेर कारोबार सञ्चालन गराउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र खरिद–बिक्री गराउने ब्रोकर कम्पनी कसैको पनि त्रुटि नऔँल्याई एकोहोरो आफूमाथि प्रहार भएको उनको गुनासो छ । धितोपत्र ऐन, २०६३ लागु हुनु अगावै कम्पनी ऐन, २०५३ को अधिनमा रही विद्युत् विकासको थालनी गरेको व्यक्तिमाथिको अन्यायपूर्ण फैसलालाई सर्वोच्चले सच्याउनेमा उनी विश्वस्त छन् ।

 ऊर्जा विकासमा न्यौपानेको योगदान

नेपाल राष्ट्र बैंकलगायत विभिन्न वित्तीय संस्थाको उच्च तहमा रही महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका न्यौपाने २०५४ सालपछि ऊर्जा उद्यममा प्रवेश गरेका थिए । देशलाई जलविद्युत् विकासमार्फत समृद्ध बनाउने उद्देश्यले उनले त्यतिबेलै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरी ३ मेगावाटको पिलुवाखोला जलविद्युत् आयोजना विकास गरेका थिए ।

तत्कालीन समय जलविद्युत् विकासका लागि प्रतिकुल रहँदा पनि एकपछि अर्को विद्युत् आयोजना विकास गर्दै गए । १६ करोड रुपैयाँ अधिकृत पुँजी भएका ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थावाट जलविद्युत्का लागि लगानी जुटाउन अत्यन्तै कठिन थियो । त्यस समयमा बैंकिङ क्षेत्र र सरकारी निकायलाई समेत जलविद्युत् सम्बन्धी यथेष्ठ ज्ञान थिएन । त्यसअघि देशमा जेजति आयोजना निर्माण भएका थिए, ती सबैमा विदेशी लगानी र प्राविधिक सहायता थियो । यस्तो विषम पस्थितिमा न्यौपानेको नेतृत्वमा निजी क्षेत्रले पिलुवा खोलाको निर्माण गरी बिजुली बालेको थियो । 

२०६० असोजबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाबाट तोकिएको समयभित्रै बैंक तथा वित्तीय संस्थाको साँवा–ब्याज भुक्तानी गरेर उनले व्यावसायिक प्रतिष्ठा कमाएका थिए । देशमा व्याप्त राजनीतिक अशान्ति र लगानीको चरम अभाव रहेको समयमा समेत छरिएको पुँजी एकत्रित गरी जलविद्युत् विकास गर्न सकिन्छ भन्ने प्रमाण पिलुवाखोला बन्यो । जसमा न्यौपानेकै कुशल नेतृत्व र सक्रियता थियो । 

तत्पश्चात् गुल्मी जिल्लाको रिडी खोलामा ३८५ जना सेयर लगानीकर्ता जुटाई रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मार्फत २.४ मेगावाटको रिडी खोला बनाएका थिए । उनले चरम संकटको बेलामा समेत विद्युत् आपूर्ति गर्ने सफल उद्यमीको छवि बनाएका छन् ।

त्यसैगरी, करिब ४ हजार सेयरधनीको विश्वास लिएर पाँचथरमा २५ मेगावाटको काबेली ‘बी’–१ को निर्माणमा समेत उनको नेतृत्वदायी भूमिका थियो उद्यमशीलतालाई निन्तरता दिँदै न्यौपानेले जलविद्युत्का साथै सौर्य विद्युत् विकसामा पनि उल्लेख्य योगदान पुर्याएका छन् । अहिलेसम्म उनको नेतृत्वमा १४ जलविद्युत् तथा ४ सौर्य विद्युत् आयोजनाको निर्माण पूरा भई सञ्चालनमा आइसकेका छन् । जसको क्षमता १२१.२ मेगावाट रहेको छ ।

उमेरले ७ दशक नाघे पनि उनी उत्तिकै सक्रियताका साथ विद्युत् विकासमा अनवरत खटिइरहेका छन् । अहिले पनि उनले २० मेगावाटको तल्लो बलेफी, ३० मेगावाटको लिखुखोला, ११ मेगावाटको अप्पर तादी गरी ७०.७ मेगावाटका आयोजना विकासको नेतृत्व गरिरहेका छन् । ऊर्जा विकासमा लाग्ने दर्जनौँ लगानीकर्ता तथा लाखौँ सेयरधनीका भरोसायोग्य अभिभावकको रूपमा समेत उनले ख्याति कमाएका छन् ।

विद्युत् विकाससँगै पछिल्लो समय न्यौपाने हरित हाइड्रोजन विकासको खोज अनुसन्धानमा पनि सक्रिय छन् । उनले नेपालमा पहिलो पटक निजी क्षेत्रको तर्फबाट हरित हाइड्रोजन विकास गर्न भारतको ग्रिन्जो इनर्जीसँग समझदारी समेत गरेका छन् । 

शैक्षिक पृष्ठभूमि : त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका न्यौपानेले लामो समय राष्ट्र बैंकमा सेवा गरेका थिए । उनले छात्रवृत्ति प्राप्त गरी थाइल्यान्डको थामाशट विश्वविद्यालयबाट नवीकरणीय प्राकृतिक स्रोतबारे अर्थशास्त्रमै दोहोरो स्नातकोत्तर उपाधि हासिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit