काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्ष (आव २०८१/८२) मा विद्युत् खपत १०.७ प्रतिशतले बढेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहका अवसरमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
उनका अनुसार गत आवको अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा कूल जडित क्षमता ३५९१ मेगावाट पुगेकोमा राष्ट्रिय प्रणालीमा १५ हजार ६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको थियो । यसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत् उत्पादक (आइपिपी) हरूको योगदान ५५ प्रतिशत र ११ प्रतिशत विद्युत् भारतबाट आयात गरिएको थियो । नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आवको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको थियो ।
भारततर्फ भएको विद्युत् निर्यात अघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतले वृद्धि भई २ हजार ३८० गिगावाट घण्टामा पुगेको थियो । सोही अवधिमा नेपालले १७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको थियो । यसरी गत आव २०८१/८२ मा नेपाल बाट ६६८ गिगावाट घण्टा खूद विद्युत् निर्यात भएको थियो ।
२०८२ असार १८ गते प्राधिकरणको प्रणालीमा सर्वाधिक माग २ हजार ९०१ मेगावाट रेकर्ड गरिएको थियो जसमध्ये २ हजार २१४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको थियो । सुक्खा मौसममा नदी प्रवाही आयोजनाहरूको उत्पादन घटेका कारण २०८१ पुस महिनामा भारतबाट अधिकतम २७४ मेगावाट विद्युत् आयात गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७.१ लाख पुगेको छ ।
यसमा सामुदायिक ग्रामीण विद्युतीकरण मार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकहरू समावेश छैनन् । कूल ग्राहक संख्यामध्ये घरेलु ग्राहकहरूको हिस्सा ९१.०८ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२३ प्रतिशत तथा अन्य ग्राहकहरूको हिस्सा ७.६९ प्रतिशत रहेको छ ।
राष्ट्रिय ग्रिड पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ । विद्युत् चुहावटमा ०.४७ प्रतिशतले कमी आई आव २०८१/८२ मा १२.२६ प्रतिशत कायम भएको छ । प्राधिकरणको औसत विद्युत् बिक्री प्रति ग्राहक १८७३ युनिटबाट वृद्धि भई गत आवमा प्रति ग्राहक १९७८ युनिट पुगेको छ ।