काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आफ्नो नियमित र मुख्य कार्यक्रमको रूपमा रहेको ‘हिमालयन हाइड्रो एक्स्पो’को पाँचौँ संस्करण आगामी माघमा आयोजना गर्ने निर्णय गरेको छ ।
इपान कार्यसमितिको बैठकले यो बहुप्रतीक्षित एक्स्पो आगामी माघ २, ३ र ४ गते (सन् २०२७ जनवरी १६, १७ र १८ तारिख) मा काठमाडौँमा गर्ने निर्णय गरेको हो । नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने, नयाँ प्रविधि भित्र्याउने र सरोकारवालालाई एकै ठाउँमा समेट्ने उद्देश्यले यो मेला नियमितरूपमा आयोजना गर्दै आएको छ ।
हरेक २-२ वर्षमा हुँदै आएको एक्स्पोका चार वटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । हालसम्मका सबै एक्स्पोहरू भृकुटीमण्डपमा आयोजना हुँदै आएको छ । यसमा स्वदेशी तथा विदेशी ऊर्जा उत्पादक, प्रविधि प्रदायक, लगानीकर्ता र सरोकारवालाको ठूलो सहभागिता रहँदै आएको छ ।
यसअघि भएका एक्स्पोको विवरण :
• पहिलो संस्करण: २०७४ पुस २१ देखि २३ गते (सन् २०१८ जनवरी ५–७)
• दोस्रो संस्करण: २०७५ माघ ४ देखि ६ गते (सन् २०१९ जनवरी १८–२०)
• तेस्रो संस्करण: २०७८ चैत १८ देखि २० गते (सन् २०२२ अप्रिल १–३)
• चौथो संस्करण: २०८१ वैशाख १२ देखि १४ गते (सन् २०२४ अप्रिल २४–२६)