काठमाडौँ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएका उक्त ६ किलोमिटर प्रसारण लाइन खण्ड निर्माण सकिएपछि शुक्रबारबाट सञ्चालन (चार्ज) गरिने भएको हो ।
लाइन सञ्चालनमा आएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत् प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत् माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न थप सहज हुने बताए । चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाएको उनले जानकारी दिए ।
प्राधिकरणले आगामी हिउँदयाममा काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइनलाई १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । लाइन चार्ज गर्न आवश्यक पूर्वाधारअन्तर्गत चोभार सबस्टेसनमा दुई वटा वे निर्माण गरिएको छ ।
उपत्यकाको विद्युत् आपूर्तिलाई पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेट्ने १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गत ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण प्रसारण लाइन निर्माण प्रभावित भएपछि वैकल्पिक रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण अगाडि बढाइएको हो ।
चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका ९ वटा फिडर रहेका छन् । उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुना लगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत् भोल्टेज सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।
मुख्यतः त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौँ उपत्यकामा आपूर्ति हुँदै आएको छ । मातातीर्थ सबस्टेसनबाट चोभार सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।
चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ । यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गत काठमाडौँ र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । काठमाडौँतर्फ निर्माण सम्पन्न भएको चोभारसम्मको लाइनलाई चार्ज गर्न लागिएको हो ।
ललितपुरतर्फ भने खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेपछि उक्त खण्डको निर्माण अघि बढ्न सकेको छैन । यसका कारण काठमाडौँ उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने कार्य प्रभावित हुँदै आएको छ ।