काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पश्चिम सेती प्रसारण लाइन कोरिडोर आयोजना अन्तर्तग बझाङ–वनलेक ४०० केभी खण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउन कम्पनीले यस प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि अनुमति माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ ६० किलोमिटर रहनेछ, जुन सुदूरपश्चिमको बझाङ स्थित जयपृथ्वी नगरपालिका–१ मा रहने चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा रहने वनलेक (पश्चिम सेती) सबस्टेसनसम्म फैलिनेछ । ४०० केभी (डबल सर्किट) प्रसारण लाइनले करिब २ हजार ५०० मेगावाट विद्युत् शक्ति प्रसारण गर्न सक्नेछ ।
आयोजनाअन्तर्गत ४००/१३२ केभीका दुई सबस्टेसनहरू— १६० एमभिएको चैनपुर सबस्टेसन र ३१५ एमभिएको वनलेक सबस्टेसन निर्माण गरिनेछ । प्रसारण लाइनका लागि १४३ वटा टावर रहनेछन्, जसको अधिकतम उचाइ ६१ मिटर, टावरबीचको औसत दूरी ४०८.९९ मिटर र न्यूनतम दूरी १२७.७९ मिटर रहने जनाइएको छ ।
आयोजना निर्माण तथा भोगाधिकारका लागि कुल २९५.४२३ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये टावर निर्माणका लागि ३०.४१५ हेक्टर, विद्युत् मार्गको क्षेत्राधिकारअन्तर्गत २६५.०० हेक्टर र सबस्टेसनहरू निर्माणका लागि २१.४१५ हेक्टर (चैनपुर सबस्टेसनका लागि १४.३७२ हेक्टर र वनलेक सबस्टेसनका लागि ७.०४३ हेक्टर) जमिन प्रयोग हुनेछ । प्रसारण लाइनको क्षेत्राधिकार मध्य बिन्दुबाट दायाँ-बायाँ २३/२३ मिटर गरी कुल ४६ मिटर कायम गरिएको छ ।
आयोजना करिब ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने देखिए ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया दिन आग्रह गर्दै विद्युत् विकास विभागले बुधबार सूचना जारी गरेको छ ।