विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केही दिनदेखिको अवीरल वर्षाका कारण नदी तथा खोलामा आएको बाढीले निजी ऊर्जा उत्पादकका जलविद्युतगृहको उत्पादन पनि प्रभावित हुन पुगेको छ । निरन्तरको वर्षाले नदी तथा खोलामा पानीको बहाब बढेसँगै सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरूमा क्षति हुने क्रम बढेकाले उत्पादन प्रभावित हुन पुगेको हो ।

बाढीले संरचनामा क्षति पुगेकाले एवं नदी तथा खोलाको पानीमा लेदो  मिसिएकाले मेसिन चलाउन नसकिने भएपछि जलविद्युतगृहको उत्पादन बन्द गरिएको छ । बाढीकै कारण अहिले निजी क्षेत्रका डेढ दर्जन बढी जलविद्युतगृहको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद हुन पुगेको छ । 

इन्द्रावती तेस्रो (७.५ मेगावाट)

बाढीले सिन्धुपाल्चोकस्थित साढे ७ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत केन्दको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याउँदा मंगलबार साँझ ६ बजेदेखि उत्पादन बन्द छ । मुख्य संरचना सुरक्षित भए पनि बाँध र बाँधको गेटमा बाढीले क्षति पुर्याएको प्रवर्द्धक नेशनल हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए ।

‘बाँधको गेटमा पुगेको क्षतिको मर्मत गरेर चाँडै नै उत्पादन सुचारु गराउन सकिने अवस्था हो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, जलविद्युत केन्द्र पुग्ने मेलम्ची खोलाको पक्की पुल नै बाढीले बगाएकाले तत्काल उत्पादन सुचारु गर्न सकिँदैन ।’ उनले विद्युतगृहदेखि पाँचखाल सबस्टेसनसम्म पुगेको प्रसारण लाइनका ३ वटा टावरमा समेत क्षति पुगेको बताए । 

उत्पादन बन्द हुँदा कम्पनीले दैनिक साढे ७ लाख रुपैयाँ आम्दानी गुमाएको छ । उनले जलविद्युत केन्द्र स्थलसम्म पुग्ने सडक समेत भत्किएकाले उत्पादन सुचारु हुन २ साताको समय लाग्न सक्ने बताए । अघिल्लो वर्षको बाढीले पनि यो जलविद्युत केन्द्रको सेटलिङ बेसिन (बालुवा थिग्राउने पोखरी) पुरेको थियो ।

राधी (४ मेगावाट)

बाढीको असरले लमजुङमा सञ्चालित ४ मेगावाटको राधी जलविद्युत केन्द्रको उत्पादन बन्द छ । जलविद्युत केन्द्रको संरचनामा क्षति नपुगे पनि विद्युत प्रवाह हुने प्रसारण लाइनको टावर ढलेपछि उत्पादन बन्द हुन पुगेको हो ।

राधीको विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको सबस्टेसनसम्म पुग्ने प्रसारण लाइनको टावर ढलेकाले उत्पादन बन्द हुन पुगेको प्रवर्द्धक राधी विद्युत कम्पनीका सञ्चालक विनय भण्डारीले बताए । 

‘अहिले पनि बाढीको त्रास उस्तै छ । प्रसारण लाइनका कति टावर ढलेका छन् भन्ने यकिन हुन सकेको छैन’ उनले भने । यो क्षेत्रमा रहेका राधीसँगै १८३ किलोवाटको स्याङ्गे र ५ मेगावाटको सिउरी खोलाको उत्पादन पनि प्रसारण लाइन समस्याकै कारण बन्द हुन पुगेको छ ।

मिदिम करापु (३ मेगावाट)

मिदिम खोलाको बाढीले पानी धमिलिएर आउन थालेपछि सोमबारदेखि ३ मेगावाटको मिदिम करापु जलविद्युत केन्द्रको उत्पादन बन्द छ । लेदो मिसिएको पानी विद्युतगृहसम्म पठाउँदा मेसिनमा समस्या आउने देखिएपछि उत्पादन बन्द गरिएको प्रवर्द्धक युनियन हाइड्रो पावर कम्पनीका सञ्चालक किरण मल्लले बताए ।

‘खोलामा आएको बाढी विद्युतगृहमा पस्ने अवस्था आएपछि उत्पादन बन्द गरेका हौं,’ उनले भने, ‘अहिले पनि बाढीको खतरा टरिनसकेकाले संरचनामा क्षति पुगे /नपुगेको हेर्न जान सकिएको छैन ।’ उनले खोलामा पानीको सतह कम नहुन्जेल उत्पादन सुचारु गर्न नसकिने बताए ।

थापाखोला (१३.६ मेगावाट) 

मुस्ताङस्थित १३.६ मेगावाट थापा खोला जलविद्युत केन्द्रको उत्पादन पनि अहिले बन्द हुन पुगेको छ । गत चैतदेखि २२० केभी दाना सबस्टेसनमा जोडिएपछि मात्रै पूर्ण क्षमतामा चल्न सुरु गरेको थापाखोलाको उत्पादन बन्द हुन पुगेको हो ।

थापाखोलाको बाँध क्षेत्रमा पहिरो खसेको खबर छ । जलविद्युत केन्द्र सञ्चालन गर्ने कर्मचारीसँग सम्पर्क हुन नसकेकाले के कति क्षति भयो भन्ने खबर पाउन नसकेको प्रवर्द्धक माउन्ट कैलाश इनर्जी कम्पनीका अध्यक्ष भरत खड्काले बताए ।

‘जलविद्युतगृह बन्द भएको भन्ने खबर साँचो हो,’ उनले भने, ‘तर, संरचनामा क्षति पुगे/नपुगेको जानकारी पाउन सकिएको छैन ।’ उनले संरचना सुरक्षित भएको अवस्थामा खोलामा पानीको सहत कम भएपछि मात्रै उत्पादन सुचारु गर्न सकिने बताए ।

झिमरुक (१२ मेगावाट)

बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको १२ मेगावाटको झिमरुक खोला जलविद्युत केन्द्रको उत्पादन अहिले बन्द छ । खोलाको पानी लेदो र काठका टुक्रा मिसिएको आउन थालेपछि उपकरणको सुरक्षाका लागि उत्पादन बन्द गर्नुपरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले बताए ।

‘बाढीले झिमरुकको संरचनामा कुनै क्षति त गरेको थिएन,’ उनले भने, ‘विद्युतगृहमा पठाउने पानी फोहोर भएकाले उत्पादन बन्द छ ।’ उनले बाढीको सहत कम भई पानी सफा भएपछि मात्रै उत्पादन सुचारु गरिने बताए ।

कम्पनीकै स्वामित्वमा रहेका ९.४ मेगावाटको आँधीखोला र ४ मेगावाटको खुदीको उत्पादन भने सुचारु छ । आँधीखोलाको विद्युत प्रवाह हुने प्रसारण लाइनको टावरमा क्षति पुगेकाले अहिलेको उत्पादन स्थानीय क्षेत्रमा नै वितरण भइरहेको श्रेष्ठले जानकारी दिए । विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएकाले आँधखोलालाई ४ मेगावाटमा मात्रै सञ्चालन गरिएको पनि उनले बताए ।

नामार्जुन मादी (१२ मेगावाट)

कास्कीस्थित १२ मेगावाटको नामार्जुन मादी पनि बाढीको असरका कारण अहिले बन्द हुन पुगेको छ । खोलामा पानीको सहत बढेर खतराको विन्दु पार गरेपछि उत्पादन बन्द गरिएको हो ।

बाढीले जलविद्युत केन्द्रको रहेको क्षेत्रमा सामान्य क्षति पुर्याएको प्रवर्द्धक  हिमालयन ऊर्जा कम्पनीका सचिव कृष्ण भण्डारीले बताए । उनका अनुसार बाढीले बाँध क्षेत्रमा क्षति गरेको छ । बाँधको सुरक्षाका लागि बसेका सुरक्षाकर्मीको आवासगृह बाढीले बगाएको उनले बताए ।

माथिल्लो भोटेकोसी (४५ मेगावाट)

४ घन्टासम्म उत्पादन बन्द हुन पुगेको सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोसी अहिले सुचारु भएको छ । भोटेकोसी नदीमा आएको बाढी विद्युतगृहमा पस्ने खतरा बढेपछि मंगलबार साँझदेखि ४ घन्टा बन्द भएको उत्पादन सुचारु भइसकेको भोटेकोसी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिक्रम स्थापितले बताए ।

नदीमा पानीको सहत बढेर ६ सय मिटर क्युबप्रतिसेकेन्ड पुगेको छ । भोटेकोसी नदीमा सामान्य मनसुनका बेला १५० देखि २०० मिटर क्युब प्रतिसेकेन्ड हाराहारीमा पुग्ने पानीको बहाब अहिले ६ सय मिटर क्युब प्रतिसेकेन्ड रहेको उनले बताए ।

अन्य

बाढीले ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ ५ मेगावाटको सिउरी खोला, ५ मेगावाटको घलेम्दी, १० मेगावाटको तल्लो मोदी, १३ मेगावाटको मद्क्यु खोला, २ मेगावाटको तातोपानी, २५ मेगावाटको माथिल्लो मादीलगायतका जलविद्युतगृहको उत्पादन बन्द छ । अहिले पनि यी क्षेत्रमा भारी वर्षा भइरहेकाले के कति क्षमि भयाे भन्ने यकिन हुन सकेकाे छैन ।

बाढीको असर सबैभन्दा बढी मस्र्याङ्दी तथा कालीकण्डकी बेसिनका जलविद्युतगृहमा परेको छ । कालीकण्डकी बेसिनमा अहिले ४२ मेगावाटको मिस्ट्री खोला मात्रै पूर्ण क्षमतामा चलिरहेको छ । मिस्ट्री खोलाले नै पोखरा वरपरको क्षेत्रको विद्युतको माग धानिरहेको प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रका अधिकांश जलविद्युतको उत्पादन बन्द भएपछि यस क्षेत्रमा भोल्टेजको समस्या देखिएको प्राधिकरण पोखरा ग्रिड शाखा प्रमुख माधव पौडेलले बताए । हिउँदमा नदीको बहाब घट्न गई जडित क्षमता कम विद्युत उत्पादन गर्ने नदी प्रबाही जलविद्युत केन्द्रले बर्खामासमा सधैं जसो बाढीको समस्या झेल्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit