काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतराज ढकाल र प्रकाश मल्लले आफ्नो चुनावी सङ्कल्पपत्र मार्फत १८० मेगावाटको आँधीखोला बहुउद्देश्यीय आयोजना अघि बढाइने प्रतिज्ञा गरेका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार सङ्कल्पपत्र सार्वजनिक गर्दै उनीहरूले यस्तो प्रतिज्ञा गरेका हुन् ।
ऊर्जासहित कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रका महत्त्वपूर्ण योजना अघि बढाएर स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने उम्मेदवार द्वयले प्रतिज्ञा गरेका छन् ।
सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा सडक) लाई ‘डेडिकेटेड टु–लेन’ बनाउने ग्रामीण सडकहरूलाई बाह्रै महिना चल्ने गरी कालोपत्रे गर्ने र प्रत्येक वडा केन्द्र जोड्ने, ‘एक घर, एक धारा’ अन्तर्गत शतप्रतिशत स्वच्छ खानेपानीको सुनिश्चितता गर्ने प्रतिज्ञा गरिएको छ ।
किसानका समस्या समाधान गर्न सङ्कल्पपत्रमा विशेष योजना अघि सारिएको छ भने किसानको बाली संरक्षणका लागि बाँदरको वैज्ञानिक स्थानान्तरण र क्षतिपूर्तिको व्यवस्था गर्ने, कृषि पेसा अँगालेका कृषकका सन्तानलाई विशेष छात्रवृत्तिको व्यवस्था, बाँझो जमिन उपयोगमा ल्याउन ‘साझेदारी कृषि प्रणाली’ लागू गर्ने प्रतिबद्धता जनाइएको छ ।
सङ्कल्पपत्रमा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको छ । हरेक वडामा विशेषज्ञसहितको प्राथमिक स्वास्थ्य क्लिनिक स्थापना गर्ने र अनिवार्य स्वास्थ्य बिमा योजनालाई प्रभावकारी रूपमा लागु गर्ने उल्लेख छ ।
‘स्वरेकको उडान, स्याङ्जाको पहिचान’ भन्ने नारासहित विश्व प्रसिद्ध प्याराग्लाइडिङ गन्तव्य स्वरेक मैदानलाई अन्तर्राष्ट्रिय प्यारा–प्रशिक्षण केन्द्रका रूपमा विकास उल्लेख छ । नुवाकोट, डहरे देउराली र सातौँ चण्डीथान जस्ता ऐतिहासिक क्षेत्रलाई पर्यटकीय सर्किटमा जोड्ने र ‘होम स्टे’ प्रवर्धन गर्ने योजना रहेको छ ।
समृद्ध नेपालको परिकल्पना साकार पार्न स्याङ्जाका सबै मतदाताको स्वामित्व हुने गरी एक वृहत् पब्लिक कम्पनी स्थापना गर्ने र सो मार्फत जिल्लाका मुख्य कृषि तथा पर्यटन परियोजना सञ्चालन गर्ने उल्लेख छ ।
यसले युवाहरूलाई आफ्नै माटोमा दक्ष प्राविधिक र उद्यमी बन्न प्रेरित गर्ने लक्ष्य राखिएको छ । कांग्रेस उम्मेदवारहरूले बिपी कोइरालाको आर्थिक नीति र वर्तमान समयको आवश्यकताबिच सन्तुलन कायम गर्दै स्याङ्जाली जनताको जीवनस्तर उकास्ने दृढ सङ्कल्प गरेका छन् ।
सङ्कल्पपत्रमा युवा पुस्ताका भावनालाई सम्बोधन गर्दै सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता व्यक्त गरिएको छ ।