तातोपानी । १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको (छेडिएको) छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा निर्माणाधीन सो आयोजनाको १ हजार २ सय ६७ मिटर लामो मुख्य छेडिएसँगै अब आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हिम रिभर पावर कम्पनीले प्रवर्द्धन गरेको लिपिङ खोला जलविद्युत् आयोजना चीनको सीमा नजिक लिपिङ बजारबाट ३ सय मिटर मात्रै माथि रहेको छ ।
आयोजनाको मुख्य सुरुङ छो–रोल्पा कन्स्ट्रक्सन प्रालि (सिआरसी) ले निर्माण पूरा गरेको हो । हेडवर्क्सतिरबाट र आउटलेटतिरबाट सुरु गरेको सुरुङ जोडिएसँगै अब सुरुङको लाइनिङको काम थालिने कन्स्ट्रक्सन कम्पनीका (सिआरसी) का प्रबन्ध निर्देशक फुरलाक्पा शेर्पाले जानकारी दिए । आयोजनाको निर्माण निता–केसी जेभी र सिआरसीले गरिरहेका छ । आयोजनाको डिजाइन, सुपरिवेक्षण र मूल्याङ्कनको काम परामर्शदाता कम्पनी कन्सल्टेन्ट ट्रयाक हाइड्रोले गरिरहेको छ ।
लिपिङ खोलामा सुरुङ निर्माणमा सिआरसीको तेस्रो सफलता हो । यसअघि कम्पनीले ग्रीन लाइफ हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको सुरुङ निर्माण सम्पन्न गरिसकेको छ । हाल कम्पनीले रोल्वालिङ खोला जलविद्युत् आयोजनाको सुरुङ, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाढीपछिको डिस्यान्डर सफाइ र पुनर्निर्माणको काम गर्दै आएको छ ।
लिपिङ खोलाको पानी सदुपयोग गर्ने गरी निर्माण भएको आयोजनाको विद्युत् गृहसम्म सडक पुगेको छ । हेडवर्क्ससम्म कठिन भूगोलका कारण सडक लैजान असम्भव भएकाले निर्माण सामग्री र उपकरणहरू ढुवानीका लागि हेलिकप्टरको प्रयोग भएको छ । त्यस्तै, सामान लैजान २ वटा रोपवे समेत निर्माण गरिएकाे छ ।आयोजनाको हेडवर्क्स क्षेत्रको इन्टेक, बाँध, डिस्यान्डर लगायतका सिभिल संरचनाको काम पूरा भएको छ । त्यसैगरी, विद्युत्गृहको काम पनि पूरा गरी उपकरण जडानको काम भइरहेको छ ।
आउँदो नयाँ वर्षसँगै विद्युत् उत्पादन थाल्ने लक्ष्यका साथ आयोजनाको काम जारी रहेको प्रवर्द्धक कम्पनीका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले बताए । ३ अर्ब ४० करोड रुपैयाँको लागतमा निर्माणाधीन आयोजनाको काम बाढी पहिरोका कारण केही ढिला भएको हो । उनका अनुसार बाँधदेखि १ हजार २ सय ६७ मिटर सुरुङ र १ हजार २ सय मिटर पेनस्टक पाइपमार्फत लिपिङ खोलाको पानी विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुने छ । आयोजनाको हेड ७ सय ९२ रहेको छ ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न आयोजना आफैँले लिपिङदेखि चाकुसम्म १४ किलोमिटर लामो १३२ केभीको ट्रान्समिसन लाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाले प्रभावित स्थानीयवासी र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदनसमेत दिइसकेको जनाएको छ ।
आयोजनाको सुरुङ जोड्ने कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित बागमती प्रदेशका सांसद सरल सहयात्री पौडेल, प्रवर्द्धक कम्पनीका सञ्चालकहरू, ऋण लगानी गर्ने बैंकका प्रतिनिधिहरू र निर्माण व्यवसायी तथा कर्मचारीहरूको सहभागिता थियो ।