विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई छिटो, सरल र प्रविधिमैत्री बनाउन सहयोगी हुने गरी कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘एनइए एई साथी’ प्रणाली (एप) कार्यान्वयनमा ल्याउन लागेको छ । डिजिटल रूपान्तरणलाई संस्थागत प्राथमिकता दिँदै सेवाको प्रत्यक्ष सहायक उपकरणका रूपमा यो प्रविधि ल्याउन लागिएको हो ।

विश्वव्यापी रूपमा तीव्र विकास भइरहेको एआईले सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यस अवधारणा अनुसार एआईलाई केवल प्राविधिक उपकरणका रूपमा मात्र नभई संस्थाको ‘सहयोगी साथी’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

एआई जटिल र टाढाको प्रविधि नभई आवश्यक परेको बेला सहयोग गर्ने डिजिटल सहायक हुने हुँदा नयाँ अवधारणा सहित ग्राहक सेवा विस्तार गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘प्रविधिलाई उपभोक्तामैत्री बनाउँदै सेवा सुधार गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘एई साथीले सेवाग्राहीलाई सूचना प्राप्ति, गुनासा दर्ता, बिल तथा मिटरसम्बन्धी जानकारी र अन्य सेवामा सहयोग गर्ने छ ।’

‘एई साथी’ मार्फत उपभोक्ताले मोबाइल वा डिजिटल माध्यमबाट सहजरूपमा सेवा लिन सक्ने वातावरण निर्माण गरिने शाक्य भनाइ छ । उनका अनुसार प्रयोगकर्ताले च्याट–आधारित प्रणालीमार्फत प्रश्न सोध्न, समस्या दर्ता गर्न र आवश्यक जानकारी तुरुन्तै प्राप्त गर्न सक्ने गरी प्रणाली विकास गर्न लागिएको छ ।

‘एआई ह्याकाथन २०८२’ अवधारणा

प्राधिकरणले एआईलाई संस्थागतरूपमा आत्मसात् गर्ने उद्देश्यले ‘एआई ह्याकाथन २०८२’ कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक निकायभित्र एआई प्रयोगको प्रारम्भिक प्रयासका रूपमा हेरिएको यस कार्यक्रममा संस्थाभित्रकै कर्मचारीहरूबाट २७ वटा प्रस्तावका विषयमा प्रस्तुत गरिएका थिए ।

ती प्रस्तावहरू ग्राहक–सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरण, स्मार्ट मिटर व्यवस्थापन तथा डिजिटल सेवा विस्तारजस्ता विषयमा केन्द्रित रहेको प्राधिकरणले जनाएको छ । प्रस्तावहरूको प्रस्तुतिपछि विस्तृत मूल्याङ्कन गरी उत्कृष्ट तथा व्यवहारिक अवधारणालाई क्रमशः कार्यान्वयनमा लैजाने योजना रहेको छ ।

कार्यकारी निर्देशक शाक्यले छनोट भएका अवधारणालाई परीक्षण तथा विकास प्रक्रियामार्फत संस्थागत प्रणालीमा समावेश गरिने पनि बताए । ‘एआईसँगै अघि बढ्न नसके भविष्यमा संस्था पछि पर्न सक्छ,’ उनले भने, ‘त्यसैले दीर्घकालीन रणनीतिअनुसार एई साथी अघि बढाइएको हो ।’

प्राधिकरणले स्मार्ट मिटर जडान, अनलाइन बिलिङ र मोबाइल एप जस्ता डिजिटल सेवा विस्तार गरे पनि ग्राहकका गुनासा समाधानमा अझै चुनौती रहेको स्वीकारिएको छ । प्राधिकरणका उपनिर्देशक रोहिणी पौडेलले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा स्मार्ट मिटर र मोबाइल एप प्रयोगमा आए पनि सेवाग्राहीले अपेक्षित सहजता अनुभव गर्न नसकेको बताए । ‘मोबाइल एपको प्रयोग अझै जटिल भएको गुनासो आउने गरेको छ,’ उनले भने, ‘एई साथीले ग्राहक सेवा प्रणालीलाई थप सहज बनाउँदै सेवाग्राहीले भोग्ने कठिनाइ क्रमशः घटाउने विश्वास गर्न सकिन्छ ।’

एआई–आधारित ग्राहक सेवा प्रणालीले चौबीसै घन्टा सेवा उपलब्ध गराउन सक्ने, सामान्य प्रश्नको तुरुन्त जवाफ दिन सक्ने तथा समस्या दर्ता र समाधान प्रक्रियालाई स्वचालित बनाउन सक्ने अपेक्षा गरिएको छ । यसले कर्मचारीको कार्यभार घटाउनुका साथै सेवा प्रवाहको गति बढाउने विश्वास गरिएको छ ।

सम्भावित उपयोग

प्राधिकरणका अनुसार ‘एई साथी’ प्रणालीलाई विभिन्न चरणमा विस्तार गर्ने प्राधिकरणको योजना छ । प्रारम्भिक चरणमा ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित हुने प्रणालीलाई पछि प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान र डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्न सकिने छ ।

प्राधिकरणका अनुसार विद्युत् आपूर्ति अवरोध, मर्मतसम्भार तालिका, बिल भुक्तानी, मिटर रिडिङ, नयाँ जडान प्रक्रिया, अनलाइन आवेदन तथा गुनासा व्यवस्थापनजस्ता सेवामा एई प्रयोग गरिने छ । यस पहललाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण र सेवा सुधारतर्फको महत्त्वपूर्ण सुरुवातका रूपमा समेत लिइएको छ ।

ऊर्जा क्षेत्र डिजिटल प्रविधिसँग जोडिँदै गएको वर्तमान सन्दर्भमा प्राधिकरणको ‘एई साथी’लाई भविष्योन्मुख कदमका रूपमा हेरिएको छ । सेवा प्रवाहलाई स्वचालित, पारदर्शी र प्रयोगमैत्री बनाउने लक्ष्यसहित सुरु गरिएको यो अवधारणाले सार्वजनिक सेवा व्यवस्थापनमा एआई प्रयोगको नयाँ अभ्यास स्थापित गर्न सक्ने प्राधिकरणको अपेक्षा छ ।

प्राधिकरणले एआईलाई दीर्घकालीन रणनीतिसँग जोड्दै ग्राहक सेवा, प्रशासनिक कार्यक्षमता र संस्थागत निर्णय प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखेको छ । ‘एई साथी’ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ग्राहक र संस्थाबीचको डिजिटल अन्तरक्रिया अझ सरल र प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।

यस प्रयाससँगै नेपालमा सार्वजनिक सेवा क्षेत्रमा एआईको प्रयोग विस्तार हुने सङ्केत देखिएको छ । प्राधिकरणको यो प्रयास सफल भएमा अन्य सरकारी संस्थाका लागि पनि डिजिटल नवप्रवर्तनको उदाहरण बन्न सक्ने छ ।

प्राधिकरणले आयोजना गरेको एआई ह्याकाथन २०८२ लाई कर्मचारी–केन्द्रित नवप्रवर्तन कार्यक्रमका रूपमा लिइएको छ, जसले संस्थाभित्रैबाट डिजिटल समाधान विकास गर्ने वातावरण तयार गरेको छ ।

फागुन २ र ३ गते प्राधिकरणभित्रै सञ्चालन गरिएको कार्यक्रम अर्थात् प्राविधिक प्रस्तुति समापनका क्रममा कार्यकारी निर्देशक शाक्यसहित वितरण तथा ग्राहक–सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकाल, प्राविधिक सेवा विभागका निर्देशक अनिलमान श्रेष्ठ, भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोष लगायत उच्च पदाधिकारीको उपस्थिति थियो ।

के हो एआई ह्याकाथन ?

‘ह्याकाथन’ शब्द ‘ह्याकिङ’ र ‘म्याराथन’ शब्दबाट बनेको हो । ‘ह्याकिङ’ भन्नाले गैरकानुनी गतिविधि होइन, बरु सिर्जनात्मक ढङ्‌गले समस्या समाधान गर्ने प्राविधिक अभ्यास बुझिन्छ । ‘म्याराथन’ भनेको लामो समयसम्म निरन्तर काम गर्ने प्रक्रिया हो ।

एआई ह्याकाथन भनेको प्रोग्रामर, डिजाइनर, इन्जिनियर र डेटा वैज्ञानिकहरू एकै ठाउँमा भेला भएर छोटो समय सामान्यतः २४ देखि ४८ घन्टाभित्र एआई प्रयोग गरी समस्या समाधानको नमुना (प्रोटोटाइप) तयार गर्ने प्राविधिक कार्यक्रम हो । यस्तो कार्यक्रमले नयाँ सोच, नवप्रवर्तन र प्रयोगात्मक समाधान विकास गर्न सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३