काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका–४, रसुवापानीमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका आवासीय भवन क्षेत्रमा उत्खनन गर्दा कुनै पनि भवन नभेटिएको र क्षतिग्रस्त कंक्रिटका टुक्रा मात्र फेला परेको छ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण आयोजनास्थलमा रहेका भवन तथा संरचनामा ठूलो क्षति पुगेपछि सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका क्रममा आवासीय भवन क्षेत्रमा उत्खनन गरिएको हो ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अनुसार खोजीका लागि एक्स्काभेटर, जेसीबी, ब्रेकरलगायतका उपकरण प्रयोग गरिएको छ । आयोजनास्थलमा रहेका कार्यालय भवन तथा आवासीय भवन ए–१, ए–२, बी–१, बी–२ र डी क्षेत्रमा उत्खनन गर्दा कुनै पनि भवन भेटिएनन् । उत्खननका क्रममा क्षतिग्रस्त अवस्थामा रहेका कंक्रिटलगायतका वस्तु तथा केही फलामका टुक्रा मात्र फेला परेका छन् ।
बाढीले भवन तथा संरचना बगाएपछि बाहिरबाट बगाएर ल्याइएका ठूला–ठूला ढुंगा पनि आयोजनास्थलमा भेटिएका छन् । सम्पर्कविहीन कर्मचारी तथा कामदारको अवस्थाबारे जानकारी लिन खोजी तथा उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
आयोजनास्थलमा भदौ १८ गतेदेखि विभिन्न उपकरण प्रयोग गरी खोजी तथा उत्खनन कार्य भइरहेको छ ।