काठमाडौँ । नेपाल इन्जिनियरिङ भू-विज्ञान समाज (एनएसइजी) ले प्रा.डा. कुमुदराज काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको आइतबार (असोज २६ गते) सम्पन्न ७औँ वार्षिक साधारणसभाले उक्त कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा काफ्ले सहित डा. कञ्चन चौलागाई उपाध्यक्ष, उज्ज्वल कृष्ण रघुवंशी सचिव, सञ्जीव रेग्मी संयुक्त सचिव, प्रविण उपाध्याय कँडेल कोषाध्यक्ष रहेका छन् । यस्तै, सदस्यहरूमा ध्रुव तिवारी, अनिलकुमार चौधरी चयन भएका छन् । डा. रञ्जनकुमार दाहाल तत्कालीन अध्यक्षको भूमिकामा रहेको समाजले जानकारी दिएको छ ।
समाजको विधानअनुसार कार्यसमितिलाई पूर्ण बनाउन थप तीन जना सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ । आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको पनि समाजले जानकारी दिएको छ । समाजका अनुसार नवनिर्वाचित समिति नेपाल र विदेशमा उच्च शिक्षा, अनुसन्धान, तथा सहकार्यमा महत्त्वपूर्ण योगदान दिएका विद्वान तथा प्रतिष्ठित व्यक्तिहरू रहेका छन् । नयाँ कार्यसमितिले नेपालको इन्जिनियरिङ भू-विज्ञानको विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ ।
सन् २०१८ मा स्थापित समाजको मुख्य उद्देश्य नेपालमा इन्जिनियरिङ जियोलोजीको अभ्यास र अनुप्रयोगलाई प्रवर्द्धन गर्ने, अनुसन्धान र सहकार्यलाई प्रोत्साहित गर्ने, र पूर्वाधार विकास तथा विपद् जोखिम न्यूनीकरणमा भूवैज्ञानिक ज्ञानको उपयोग सुनिश्चित गर्ने रहेको छ । हाल समाजले 'अन्तर्राष्ट्रिय भू-विज्ञान तथा वातावरण समाज (आइएइजी)' को १५औँ एसियाली क्षेत्रीय सम्मेलन (एआरसी-१५) को आयोजना गर्ने तयारी गरिरहेको छ । जुन २०८२ मङ्सिर ११ देखि १३ गतेसम्म (नोभेम्बर २७–२९, २०२५) काठमाडौँमा हुने छ । यो सम्मेलन एसिया र विश्वभरका इन्जिनियरिङ जियोलोजिस्ट तथा भू–प्राविधिक विज्ञहरूका लागि वैज्ञानिक ज्ञान आदानप्रदान र पेशागत नेटवर्किङको महत्त्वपूर्ण मञ्च हुने विश्वास लिइएको छ ।
समाजले सम्मेलनअघिका कार्यशाला तथा तालिम कार्यक्रम पनि घोषणा गरेको छ, जसले इन्जिनियरिङ भू-वैज्ञानिक, भू–प्राविधिक इन्जिनियर तथा विपद् जोखिम व्यवस्थापन विज्ञका लागि सीप अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्ने छ । नयाँ नेतृत्व र बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यसँगै समाजले नेपाल र हिमालय क्षेत्रमा सुरक्षित, दिगो र विपद्–प्रतिरोधी पूर्वाधार विकासका लागि इन्जिनियरिङ भू-विज्ञानको प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।