काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीको ३१ लाख कित्ता साधारण सेयर निष्कासन अनुमति दिएको हो ।
कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति पाएको हो । बोर्डले जेठ २७ गते (शुक्रबार) अनुमति दिएको हो ।
सय रुपैयाँ अंकित ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले जिल्लाको नगरपालिकास्थित पुवाखोला निर्माण गरिरहेको छ । आयोजनाकाे काम अन्तिम चरणमा पुगेकाे छ ।