काठमाडौँ । नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रि–कोन) ले साना तथा लघु जलविद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा जोड्नका लागि उचित नीतिगत व्यवस्था गरिदिन माग गरेको छ । आज आइतबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटी यस्तो माग राखेको हो ।
ग्रिड पुगेपछि ग्रामीण क्षेत्रमा निर्माण भएका धेरै लघुजलविद्युत् आयोजना अलपत्रजस्तै भएकोले ठोस् नीतिगत व्यवस्था गरेर तिनलाई ग्रिडमा जोड्नुको विकल्प नरहेको रि–कोनका अध्यक्ष कुशल गुरुङले बताए । ‘ग्रिड पुग्नु राम्रो हो तर त्यससँगै साना आयोजनालाई प्रणालीमा जोड्न सकेमा गुणस्तरीय आपूर्तिको सुनिश्चितता हुनेछ,’ उनले भने, ‘यस्तै ग्रिडमा जोड्ने गरी सौर्य विद्युत् विकासलाई समेत अगाडि बढाउनुपर्ने छ ।’
सोही क्रममा नेपाल लघुजलविद्युत् विकास संका पूर्वअध्यक्ष कृष्णप्रसाद देवकोटाले जिर्ण अवस्थामा रहेका करिब १४–१५ सय आयोजनालाई ग्रिडमा जोड्नुपर्नेमा विशेष जोड दिए । यस्तै, प्राधिकरणमा सौर्य विद्युत् विकासको एउटा युनिट राख्नुपर्ने पनि रि–कोनका प्रतिनिधिले सुझाएका थिए ।
रि–कोनको सुझावपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले लघुजलविद्युत्लाई ग्रिडमा जोड्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी गराए । यस विषयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग पनि समन्वयात्मक छलफल भइरहेको उनले बताए ।
सुरुमा ५० वटा लघु जलविद्युत्लाई ग्रिडमा जोड्ने प्रक्रिया थाल्ने र विस्तारै अगाडि बढ्ने उनले रि–कोन प्रतिनिधिलाई विश्वस्त तुल्याए । गाउँगाउँमा परम्परागत दाउरा, गुइँठाजन्य इन्धन घटाएर प्यालेटको उपयोग बढाउन त्यसका लागि आवश्यक विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार रहेको शाक्यले जानकारी गराए ।
यसैगरी, १० प्रतिशतभन्दा बढी उत्पादन मिश्रणमा जानका लागि पम्प स्टोरेज र ब्याट्री स्टोरेजजस्ता आयोजनाको विकास गर्नुपर्ने कार्यकारी निर्देशक शाक्यले बताए । यसो गरे मात्र नवीकरणीय ऊर्जाको हिस्सा १० प्रतिशतबाट बढाउन सकिने उनको धारणा थियो ।