काठमाडाैँ । तनहुँ र चितवन भएर बहने सेती नदीमा निर्माण गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ । प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले विद्युत् ऐन, २०४९ को दफा ४ र विद्युत् नियमावली, २०५० को नियम १२ बमोजिम अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।
आयोजनाको स्वीकृति प्रक्रियामा रहेको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तथा विस्तृत इन्जिनियरिङ डिजाइन अनुसार आंशिक जलाशय (पिआरओआर) ढाँचामा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका मुख्य संरचनाहरू तनहुँ (ऋषिङ, व्यास, बन्दीपुर, आँबुखैरेनी र देवघाट) तथा बागमती प्रदेशको चितवन (भरतपुर महानगरपालिका) मा रहनेछन् ।
आयोजनाको बाँध संरचना (हेडवर्क्स) सेती नदीको दायाँ किनारमा र विद्युत्गृह सेती र त्रिशूली नदीको सङ्गमस्थलभन्दा १.५ किलोमिटर तल नदीको दायाँ किनारमा रहनेछ । पानी फर्काउन सेती नदीमा २१३ मिटर लामो ब्यारेज निर्माण गरिनेछ, जसको जलासयको अधिकतम सतह समुद्री सतहबाट २७५ मिटर उचाइमा रहनेछ ।
संरचनात्मक संरचनाअन्तर्गत ब्यारेजसँगै २०.८१ मिटर चौडाइ र २४.५ मिटर उचाइका ३ वटा साइड इन्टेक निर्माण गरिने छ । इन्टेकबाट आउने पानीलाई ६७६३ मिटर लामो हेडरेस सुरुङ हुँदै ५५ मिटर उचाइ भएको सर्ज साफ्टसम्म पुऱ्याइनेछ । त्यहाँबाट कुल १९७ मिटर लम्बाइ भएको पेनस्टक पाइपमार्फत ९२ मिटर लम्बाइ, ३२ मिटर चौडाइ र ४७ मिटर उचाइ भएको अर्धभूमिगत विद्युत्गृहमा पानी खसालिनेछ । विद्युत् गृहमा ४२ मेगावाटका ३ वटा फ्रान्सिस टर्बाइन र ३ वटा जेनेरेटर जडान गरी विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादनपश्चात् निस्किएको पानीलाई ८२.० मिटर लम्बाइको टेलरेस मार्फत त्रिशूली नदीमा छाडिने व्यवस्था मिलाइएको छ ।
आयोजनाबाट वार्षिक औसत ५२०.७८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ ।उत्पादन हुने विद्युत्लाई २ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको न्यू भरतपुर सबस्टेसनमा जाेडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ ।
२०८८ पुससम्म निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको यस आयोजनाको निर्माण तथा सञ्चालनका क्रममा वायु तथा भू-क्षयजस्ता वातावरणीय असरहरू पर्न नदिने गरी नियमानुसार काम गराइने विभागले जनाएको छ ।