काठमाडौँ । भारत सरकारले थप २०० मेगावाट विद्युत् निर्यातका लागि नेपाललाई सहमति दिएको छ । विभिन्न ५ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् खरिदका लागि सोमबार (साउन २६ गते) यस्तो सहमित दिइएको हो ।
स्वीकृत पाउने आयोजनाहरूमा तल्लो सोलुको ८० मेगावाट, लिखु–२ को ५०.८९, लिखु खोला ‘ए’ को २८.२, ठूलो खोलाको २०.७, सुपर काबेली खोला ‘ए’ को १३.७ र सुपर काबेली खोलाकाे ६.८ मेगावाट रहेका छन् । यसरी थप २००.२९ मेगावाट विद्युत् निर्यात गर्न सहमति प्राप्त भएकाे नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
पूर्ण क्षमताका हिसाबले तल्लो सोलु ८२ मेगावाट, लिखु–२ को ५५, लिखु खोला ‘ए’ ५१, ठूलो खोला २१.३, सुपर काबेली खोला ‘ए’ १३.७ र सुपर काबेली खोला १२ गरी यी आयोजनाको कूल जडित क्षमता २३५ मेगावाट रहेको छ । आयोजनाको जडित क्षमताभन्दा केही तल्लो सीमा तोकेर निर्यातको अनुमति दिइएको प्राधिकरणले जनाएको छ ।
यसअघि भारतले विभिन्न जलविद्युत् आयोजनाको कूल ८१०.९ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको थियो । थपिएको २००.२९ मेगावाट गरी भारतमा निर्यात हुने कूल विद्युत् क्षमता १०१०.९ मेगावाट पुगेको छ ।
यसबाहेक नेपालले वर्षाका ५ महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । योसहित नेपालले दुई देशमा गरी कूल १०५०.९ मेगावाट निर्यात गर्न पाउने भएको छ ।
विद्युत् निर्यातबाट गत आर्थिक वर्ष (आव ८१/८२) मा १७ अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षमा निर्यातका लागि अझै थप अनुमित प्राप्त हुने र कूल निर्यात गत वर्षकोभन्दा दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।