विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माण भइरहेका १३२ केभी सुनवल सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको काम सकिन लागेको हो ।

निर्माणाधीन सबस्टेसनको सबै काम एक महिनाभित्र सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राकिरणका अनुसार सबस्टेसनमा उपकरण जडान धमाधम भइरहेको छ ।

१३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरू निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरूको प्रगति, आगामी दिनमा नपलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएका हुन् ।

परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड रहेको घिसिङले बताए । ‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिँदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरूबाट आउने गरेको छ’, उनले भने, ‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीबाट विद्युत आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’

औद्योगिक कोरिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।
प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक कोरिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि  सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ मा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ ।

प्राधिकरणले नयाँ बुटवल–बर्दघाट २२० केभी २१ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको घिसिङले बताए ।

‘नवलपरासी, रुपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना अन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिनेछ’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit