काठमाडौँ । प्रतिनिधि सभाका सांसद विश्वराज पोखरेलले विद्युत्का नाङ्गो तारले आमनागरिकको जीवन जोखिममा पारेको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा–१ बाट निर्वाचित सांसद पोखरेलले मंगलबार बसेको संसद्को शून्य समयमा बोल्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।
जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ का अमरबहादुर तामाङको रुखमा घाँस काट्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर २०८२ मंसिर ८ गते दुःखद् निधन भएको उनले बताए । त्यस्तै, चैत ३० गते चिशंखुगढी गाउँपालिका दियालीकी रत्नमाया श्रेष्ठको प्रसारण लाइनको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भई हात काट्नु परेको र २०८३ वैशाख ६ गते सिद्धिचरण नगरपालिका भूपराज राई घर निर्माणका क्रममा प्रसारण लाइनको नाङ्गो तारमा परेर घाइते भएको जानकारी गराए ।
विद्युत् तारकै कारण नागरिक त्रासमा रहँदासमेत प्राधिकरणले जोखिम कम गर्न, मृतकलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेको उपचारमा कुनै चासो नदिएको उनले गुनासो गरे ।