गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहटाइँदा पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहटाइँदा सडकको सर्भिस लेन र फुटपाथ निर्माण हुन नसकेको हो ।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत् पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।
उक्त स्थानमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाएबापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताए । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसके पनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने उल्लेख गरे ।
विमानस्थलले १ करोड ६३ लाख रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने उनको भनाइ छ । ‘विमानस्थलको डेडिकेटेड लाइनलाई भूमिगत संरचनामा लैजाँदाको खर्च प्राधिकरणलाई भुक्तानी भएपछि मात्र भूमिगत सेवा सुरु हुन्छ’, उनले भने, ‘भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् पोल हट्छन्, सडक आयोजनाले आफैँ पनि हटाउन सक्छ ।’
भूमिगत लाइन सुरु नभएका कारण विमानस्थलमा अहिले पुरानै संरचनाको विद्युत् सेवा सञ्चालनमा छ । प्राधिकरणका इन्जिनियर सुवेदीले विमानस्थल व्यवस्थापनबाट रकम जम्मा गरिदिने आश्वासनमात्र आउने गरेको बताए । ‘यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलसँग शनिबार पोखरामा छलफल भएको छ, मन्त्रालय तहबाट यसको समाधान हुनेमा हामी आशावादी छौँ’, उनले भने ।
निर्माणको भुक्तानी नआएसम्म भूमिगत विद्युतीय लाइन सञ्चालनमा ल्याउँदा पछि कानुनी समस्या पर्न सक्ने भन्दै प्राधिकरणले पहिले विमानस्थलले रकम तिर्नुपर्ने अडान राख्दै आएको छ । कुँडहरचोकबाट विमानस्थल प्रवेशमार्गसम्मको झन्डै १ किलोमिटर दूरीमा तार भूमिगत गर्नका लागि प्राधिकरणले संरचना निर्माण गरिसकेको छ ।
सडक आयोजनाका इन्जिनियर कुँवरले विद्युत् पोलसँगै मापदण्डविपरीतका संरचना शीघ्र हटाउन, खानेपानी पाइप, कटान गरिएका रुखलगायतलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेका गरिएको बताए ।
सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७.४७ र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ ।
कुल ३८.७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमीको सर्भिस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।
विसं २०७८ माघमा ठेक्का भई विसं २०८० वैशाखदेखि निर्माण सुरु भएको विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारबाट पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकबाट सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।