विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको दाबी गरेको छ । प्राधिकरणको दाबी अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२.७३ प्रतिशतमा सीमित गरिएको छ । यस मध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत छ । ८ वर्षअघि १९.८० प्रतिशत वितरणतर्फ र बाँकी प्रसारणको चुहावट रहेको थियो ।  

प्राधिकरणको दाबी अनुसार विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२.९० प्रतिशत, २०७४/७५मा २०.४५ प्रतिशत, २०७५/७६मा १५.३२ प्रतिशत, २०७६/७७ मा १५.२७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५.३८ र आव २०७९/८० मा १३.४६ प्रतिशतमा झारिएको थियो । 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण गर्न चाालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर ८ वर्षमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको दाबी गरे ।  कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रुपमा अर्बौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूको भन्दा कम भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।  

‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ, नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौँ, अब चुहावटलाई एकल अङ्क (सिङ्गल डिजिट)मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौँ ।’ 

उनका अनुसार आव २०७२/७३मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ । ८ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । 

ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कामबाट प्राविधिक चुहावट नियन्त्रण भएको उनले बताए । 

घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको दाबी गरे ।   

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्‍याे, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ । प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरूलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलाप सञ्चालन गरिरहेको जनाएो छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३