काठमाडौँ । भाेटेकोसीमा आएको विनाशकारी बाढीले पुरिएको रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट हराइरहेकामध्ये २ जनाको शव निकालिएको छ । आयोजनाका प्राविधिकले पेन्स्टक पाइप काटेर बाटो बनाएपछि नेपाली सेनाको टोलीले बिहीबार बिहान २ जनाको शव बाहिर निकालेको हो ।
२० मेगावाटको उक्त आयोजनाको सुरुङमा फसेका ६० कामदारमध्ये यसअघि १९ जनाको सकुशल उद्धार भएको थियो । हराइरहेका ४१ मध्ये दुईको शव निकालिएको लाङटाङ खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार बाँकीको खोजी जारी छ । ‘हाम्रो इन्जिनियर टिमले हिजो (बुधबार) पेन्स्टक पाइप काटेर भित्र छिर्ने बाटो बनाएको थियो’, उनले भने, ‘त्यहीँबाट गएर सेनाको टोलीले दुईवटा शव निकालेको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का सचिवसमेत रहेका भट्टराईले बाढी गएकै दिनदेखि आफूहरूलाई जान दिन भनिए पनि रोकेका कारण सुरुङभित्र कामदारको ज्यान जाने अवस्था आएको भन्दै आक्रोश पोखे ।
‘हामीले सुरुङको इन्ट्री र एक्जिट प्वाइन्टबारे जानकारी नै नभएको आर्मीबाट मात्र उद्धार सम्भव हुँदैन । जसले सुरुङ बनायो, ती प्राविधिकलाई लिएर जान्छौँ भन्दा दिइएन’, उनले भने, ‘८ दिनपछि जसरी सुरुङभित्र जान सकियो, त्यो उसै दिन सकिने काम थियो । हामीले पहिल्यैदेखि यति गर्न दिनुस् न भनेर पटकपटक भन्दा सुनिएन ।’
सरकारले समयमै आफूहरूलाई अनुमति नदिँदा अकल्पनीय मानवीय क्षति हुन पुगेको भट्टराईको भनाइ छ ।
हाइड्रो मेकानिकल इन्जिनियरको टोली आयोजनाको करिब १५० मिटरभित्र सुरुरुङमा पसेर खोजी तथा उद्धारको काम गरिरहेको उनले बताए ।